चिकित्सकले ब्रेन डेड घोषित गरेका किशोर बाँचे



काठमाडौं : चिकित्सकहरूले ब्रेन डेड घोषित गरेका एक किशोर बाँचेका छन्। उनका आफन्तहरूले उनको अन्तिम संस्कारको तयारी गरिरहँदा उनी जीवित भएका हुन्। गन्धाम किरण नामक ती १८ वर्षीय किशोर गत साता कोमामा पुगेका थिए। उनलाई कडा हेपाटाइटिस लागेको थियो। 

तेलंगानाको पिल्लालमार्रीका यी विद्यार्थीको परिवारलाई उनी बाँच्ने सम्भावना नै नरहेको भनी चिकित्सकहरूले बताएका थिए। तर उनलाई कात्रोमा बेरिँदै गरिँदा उनकी आमाले उनको आँखामा आँसु देखेपछि हल्लाखल्ला गरेकी थिइन्। 

‘म स्तब्ध भएँ अनि नातेदारहरूलाई खबर गरें। उनीहरूले तत्कालै स्थानीय चिकित्सकलाई बोलाए,’ साइदम्माले बताइन्। ‘चिकित्सकले छोरोको नाडी चलिरहेको बताए अनि हामीले भेन्टिलेटर नहटाएकोमा प्रशंसा गरे।’

चिकित्सकहरूले अब किरण बाँच्दैनन् भने पनि परिवारका सदस्यले उनको लाइफ सपोर्ट सिस्टम हटाएका थिएनन्। उनले अन्तिम सास आफ्नै गृहनगरमा लिऊन् भनी उक्त सिस्टम राखिएको थियो। किरण अनायास होशमा आएपछि कुराकानी गर्न थाले र अहिले चिकित्सकहरूले उनको उपचार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्