युक्रेनमा यौन शोषणका दोषीलाई नपुंसक बनाउने कानून पारित



काठमाडौं : युक्रेनमा नाबालकलाई बलात्कार गर्ने अपराधीलाई 'लिंगच्छेदन' गरिने नयाँ कानुन बनाइएको छ। 'लिंगच्छेदन' भन्नाले लिंग काटिने भन्न खोजिएको हैन। सुईमा रसायन हालेर अपराधीको शरीरमा एन्ड्रोजिनविरोधी औषधि पार्ने र यसले गर्दा उसको यौनेच्छा कम हुने युक्रेनको राष्ट्रिय समाचार समितिले जनाएको छ। 

नाबालकलाई बलात्कार गरेको वा यौन दुर्व्यवहार गरेको आरोप लागेका १८ देखि ६५ वर्षसम्मका पुरुषमाथि यो कानुन लागू हुनेछ। यसले प्रत्येक वर्ष हजारौं मानिसलाई असर गर्न सक्नेछ। सन् २०१७ मा युक्रेनमा ३२० जना नाबालकको बलात्कार भएको आधिकारिक आँकडा छ। तर नाबालकमाथि हुने यौन दुर्व्यवहारको संख्या हजारौंमा पुग्ने विश्वास गरिएको छ। 

हालैको एक वीभत्स घटनामा ओडेसा क्षेत्रकी ११ वर्षीया डारिया लुक्यानेन्कोलाई उनको परिवारका एक मित्र निकोलाई तारासोभले बलात्कार गर्न खोजेका थिए। डारियाले त्यसको प्रतिकार गर्दा निकोलाईले उनको हत्या गरे। उनको लाश गाउँको पोखरीमा ६ दिनपछि फेला परेको थियो। निकोलाईलाई बलात्कारको प्रयास र हत्याका लागि प्रहरीले हिरासतमा लिएको छ। 

हजारौ मानिसले डारियाको अन्तिम संस्कारमा भाग लिए अनि निकोलाईकी आमा मारियाले सार्वजनिक रूपमा उनलाई आफ्नो छोरो नमान्ने घोषणा गरिन्। युक्रेनको संसद् भेर्खोभ्ना राडाको एक विशेष सत्रमा बालबालिकाविरुद्धको यौन अपराधमा कडा कानूनलाई पारित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्