प्रेमिका भेट्न भित्तो चढेर नवौं तलामा, पतिलाई देख्दा चिप्लेर ज्यान गयाे



काठमाडौं : भारतको मुम्बईमा विवाहिता प्रेमिकालाई भेट्न एक युवक नवौं तल्लाको झ्यालमा झुण्डेर बसिरहेको थियो। अचानक उसको आँखा प्रेमिकाको पतिमा पर्‍यो। अनि उसले भित्तोबाटै तल आउन खोज्यो। तर अहिले मुम्बईमा पानी परिरहेकोले भित्तोबाट चिप्लिएर उक्त युवक भुइँमा बजारियो। घटनास्थलमै उसको मृत्यु भयो। 

प्रहरीले यसलाई दुर्घटनाका कारण भएको मृत्युका रूपमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, १९ वर्षीय युवक नियाज शेख दुई वर्षअघि बिहारबाट मुम्बई आएको थियो। ऊ आफ्नो मामासँग अग्रिपाडाको एक भवनमा १५औं तल्लामा बस्थ्यो। 

त्यसै भवनमा २४ वर्षीया एक विवाहिता पनि बस्थिन्। विवाहितासँग नियाजको प्रेमप्रसंग चलिरहेको थियो। दुई महिनाअघि मामाले नियाज महिलाको कोठामा गएको देखेपछि गाली गरेका थिए। अनि मामाको आँखा छल्न ऊ भवनको पछिल्तिरको भित्तो चढेर महिलाकहाँ जान थालेको थियो। 

मंगलबार पनि ऊ प्रेमिकालाई भेट्न नवौं तल्लामा गयो। तर प्रेमिकाको पति देखेपछि ऊ फर्किन खोज्यो। तर त्यसक्रममा ऊ चिप्लियो र तल बजारियो। महिलाले केही खसेको आवाज सुनिन् तर पति सँगै हुनाले सोधखोज गरिनन्। 

घटना निकै राति भएको हो। भवनको चौकीदारले साढे २ बजेतिर ट्यांकीमा पानी भर्न जाँदा भुइँमा लडिरहेको युवक देखे। उनले तत्कालै प्रहरीलाई खबर गरे। युवकलाई नायर अस्पताल लगियो। त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। प्रहरीका अनुसार, मृत युवक ल्याब असिस्टेन्टका रूपमा काम गरिरहेका थिए। 

प्रतिक्रिया दिनुहोस्