सडकमा डलर बर्सिन थालेपछि हात पार्न हानथाप (भिडियो)



काठमाडौं : अमेरिकाको एक राजमार्गमा अचानक डलरको वर्षा भयो र चारैतिर नोट उड्न थाल्यो। अनि त राजमार्गमा गुडिरहेका गाडी रोकेर मानिसहरू दुवै हातले डलर सोहोर्न थाले। अर्काले भन्दा बढी डलर हात पार्न उनीहरू प्रतिस्पर्धा गर्न थाले। नर्थ एट्लान्टाको इन्टरस्टेट हाईवे नम्बर २८५ मा नोटहरू राखिएको एउटा ट्रक गुडिरहेको थियो।

ट्रकको ढोका अलिकति खुल्यो अनि राजमार्गमा नोट बर्सिन थाल्यो। त्यसपछि त डलर लिनका लागि मानिसहरू तँछाडमछाड गर्न थाले। ट्रक कम्पनीले आफ्नो एक लाख ७५ हजार डलरका नोट लुटिएको अनुमान गरेको छ। राजमार्ग हुँदै गइरहेका केही मानिसले नोट बर्सिएको र लुटपाट मच्चिएको भिडियो समेत खिचेका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

घटना मंगलवार रातिको हो। घटनाको खबर पाएपछि प्रहरी घटनास्थलमा पुग्यो तर उसकै अगाडि पनि मानिसहरूले डलर लुटिरहे। प्रहरीले मानिसहरूलाई डलर फर्काउन आग्रह गरेको भए पनि जम्मा ६ जना मानिसले ४४ सय डलर फर्काए। डलर नफर्काउने मानिसहरूलाई कारवाही गर्ने चेतावनी प्रहरीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्