पानी खुवाउने सहमतिपछि नागढुंगा सुरुङ मार्गको काम सुरु



काठमाडौं । २८ चैतदेखि निर्माण ठप्प रहेको नागढुंगा सुरुङ मार्गको काम सुरु भएको छ । चन्द्रागिरि नगरपालिका– ३ का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै निर्माण कामदारहरू बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको वार्ताबाट सहमति भएपछि आयोजनाको कार्य सुरु भएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।
‘आयोजनाको काम ठप्प बनेपछि हामी दैनिकजसो पटकपटक छलफल र वार्ता भयो तर आइतबारको वार्ता भने निर्णायक बन्यो । आज आइतबार बिहानैदेखि खटेर बेलुका ७ बजेसम्म वार्ता बसेर सहमतिमा ल्यायौँ । आइतबारदेखि नै काम सुरु भएको छ’, उनले भने ।
स्थानीय बासिन्दाले खानेपानीको समस्या समाधान गर्न माग राख्दै आएका थिए । यसअघि खानेपानीको सबै समस्या समाधान गर्ने सहमतिपछि मात्र सुरुङ मार्ग खन्ने कार्य सुरु भएको थियो । तर, खानेपानीको काममा थप सहयोगको माग राखेपछि कुरा नमिल्दा तोडफोड भएको र काम ठप्प बनेको थियो ।
सुरुङ मार्ग सुरु भएपछि दहचोकबासीले प्रयोग गर्दैै आएको पानीको मुहान सुकेको छ भने उनीहरूलाई नगरपालिकाको गाडीले ट्याङ्करमार्फत पानी खुवाउँदै आएको छ । स्थानीयले यहाँ ५०० घर धुरी रहेका दाबी गरेका छन् भने आयोजनाले उनीहरूको घर सङ्ख्या साढे ३०० को हारहारीमा रहेको आँकलन गरेको छ ।
त्यहाँको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न खानेपानी योजनाको काम पूरा गर्ने र त्यस अवधिसम्म ट्याङ्करको सङ्ख्या बढाएर पानी खुवाउने, सिँचाइका लागि पानीको व्यवस्थापन गर्नेलगायत सहमति भएको आयोजना प्रमुख शाक्यले बताए ।
शाक्यका अनुसार खानेपानीका लागि लाग्ने ४ करोड रुपैयाँ लागतको किस्ता सबै सकिएको र अन्तिम किस्ता मात्र अलिक ढिला भएको हो । यस क्षेत्रको खानेपानी व्यवस्था गर्नका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको पनि उनले बताए ।
त्यस्तै, स्थानीयको अवरोधपछि सुरुङ मार्ग निर्माणको काम ठप्प भएपछि निर्माण कम्पनीले भेरिएसन रकम दाबी गर्ने पत्र प्राप्त भएको बताए । ‘५ दिनसम्म काम ठप्प बनेको कुरामा निर्माण पक्षले भेरिएसन रकमको दाबी गर्ने पत्र प्राप्त भएको छ । यस विषयमा निर्माण पक्षसँग छुट्टै वार्ता गर्नुपर्छ । सकेसम्म सहमति होस् भन्ने हाम्रो माग छ’, उनले भने ।
यसअघि पनि जग्गाको मुआब्जा नपाएको, पानीको समस्या हुनेलगायत भन्दै आयोजना सुरु हुनुपूर्व धेरै विवाद भएको थियो । अझै पनि आयोजनाको क्षेत्रभित्र पर्ने केही स्थानको मुआब्जाको विषय टुङ्गिन सकेको छैन । काठमाडौं र धादिङ जोड्ने यो आयोजनाको दुवैतिर विवाद थियो ।
हालसम्म मुख्य सुरुङ मार्ग १ हजार १०६ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । राष्ट्रिय प्राथमिकताप्राप्त नागढुंगा सुरुङ मार्गको सुरुङ खन्ने कार्य ४८ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
२ दशमलब ७ किलोमिटरको सुरुङ मार्ग, सुरुङको ठेक्का पाएको कम्पनीले गत १८ कात्तिकदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ । तर, २ पटक कोरोनाका कारण भएको लकडाउनका कारण ८६ दिन थप गरी निर्माण कम्पनीलाई परिचालन गरेको आयोजना प्रमुख शाक्यले बताए ।
सुरुङ मार्गको निर्माणसँगै आयोजनाभित्र पहुँचमार्ग, पुल, कल्भर्ट, फ्लाई ओभर, अन्डरपास, सुरक्षा, दस्तुरलगायतका भवन जस्ता संरचना निर्माण गर्नुपर्छ ।
सडक मार्ग, ७ वटा पुल, २ वटा फ्लाई ओभर निर्माणको काम यस आयोजनाभित्र पर्छन् । काठमाडौंको तोतिपाखा हुँदै धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग हुनेछ ।
त्यस्तै, अन्डरपास ३ मध्ये २ वटा बनाइसकेको छ । पुल ३ मध्ये २ वटा बनाइसकेको र फ्लाई ओभर एउटा बनाउनुपर्नेमा जग्गा प्राप्त नभएकाले त्यसमा प्रगति नदेखिएको आयोजना प्रमुख शाक्यले बताए ।
सुरुङ निर्माणको ठेक्का पाएको जापानी निर्माण कम्पनीले अहिले निरन्तर काम गरिरहेको आयोजनाको भनाइ छ । २३ जना जापानी, ५ जना फिलिपिनी र नेपाली गरी ५५० भन्दा बढी कामदार खटिएको आयोजनाले जनाएको छ ।
काठमाडौं उपत्यकाको मुख्य नाकाको रूपमा लिइने नागढुंगा नाकामा सवारी आवागमनलाई सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सुरुङ मार्ग निर्माण भइरहेको छ ।
जापान सरकारको सहुलियत ऋण सहयोगमा बनिरहेको यस आयोजना निर्माणको ठेक्का जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्