पुलिसबाट भागेका चोरलाई जब पुलिसले नै उद्दार गर्नुपर्यो (भिडियो)



काठमाडाैं : चीनको हुनान प्रान्तको जियांगमा पुलिसबाट भागेका चोरलाई पुलिसले नै उद्दार गर्नुपरेको छ। पुलिसले समात्ने डरले आफू बसेको भवनको झ्यालबाट भाग्ने कोसिस गर्ने क्रममा उनी २२ औं तल्लामा नराम्रोसँग फसे।

 

पुलिसका अनुसार चोर पर्वतारोही झैं भवनबाट तल ओर्लिरहेका थिए। यसैबीच सन्तुलन बिग्रिएपछि उनी झ्यालमा झुण्डिए। आफूलाई बचाउनका लागि उनी चिच्याइरहेका थिए। उनलाई पक्राउ गर्न आएका पुलिस उनको उद्दारमा खटे। युवकको आपराधिक रेकर्ड पनि भएको र उनी लागूऔषधका दुर्व्यवसनी पनि रहेको बताइन्छ।

युवकले मार्च २४ तारिखमा चक्कु देखाउँदै एक स्थानीय पसलमा लुटपाट गरेका थिए। आरोपीले स्टोरबाट एटिएम कार्ड चोरेर खाताबाट १० हजार युआन (एक लाख ६५ हजार रुपैयाँ) निकालेका थिए। घटनापछि उनको व्यापक खोजी भइरहेको थियो।

करिब तीन दिनअघि पुलिसले अनुसन्धानको क्रममा स्टोरमा चोरी गर्ने व्यक्ति उक्त भवनमा लुकेको जानकारी पायो। त्यसपछि पुलिस साइरन बजाउँदै अपार्टमेन्टमा छापा मार्न पुग्यो। यद्यपि, साइरन सुनेपछि आरोपीले सिँढी र लिफ्टको साटो भवनको झ्यालबाट भाग्ने कोसिस गरे। बाहिर निस्कने क्रममा उनी एक भ्यालमा फसे।

उद्दार अघि एक पुलिस अधिकारीले उनलाई आत्मसमर्पण गर्नका लागि सम्झाए। उनले भने, ‘यदि तिमी आत्मसमर्पण गर्छौ भने तिमीसँग बाँच्ने एउटा मौका छ। तिमी जवान छौं, तिम्रो अगाडि पूरा जीवन छ।’

पुलिसका अनुसार यी युवक सन् २००३ मा पनि चोरीको आरोपमा तीन वर्षका लागि जेल गइसकेका छन्। पाँच वर्षपछि उनलाई लागुऔषध सेवन गरिरहेका बेला पक्राउ गरिएको थियो। त्यसपछि उनलाई तीन महिनाका लागि पुनर्वास केन्द्र पठाइएको थियो।

आरोपी २०१७ मा पनि जेल गइसकेका छन्। उनका अनुसार जेलबाट निस्किएपछि उनी आफ्ना साथीसँग मिलेर व्यापार सुरु गर्न चाहन्थे। यसका लागि पैसाको आवश्यक पर्दथ्यो त्यसैले उनले स्टोरमा चोरी गरेको बताए।

प्रतिक्रिया दिनुहोस्