नवौं राष्ट्रिय खेलकुद : टिम छनोटको जिम्मा प्रदेशलाई, जेठ १० गतेसम्म टिम दर्ता



काठमाडौं । गण्डकी प्रदेशमा जेठ अन्तिम सातामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् राखेपको ११२औं बोर्ड बैठकले नवौं खेलकुदका लागि स्थानीय तहदेखि खेलाडी छनोटको जिम्मेबारी प्रदेश खेलकुद विकास परिषद्लाई नै दिने निर्णय गरेको हो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सहित शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बसेको बैठक उक्त निर्णय गरेको हो । बैठकले जेठ १० भित्र खेलाडीको टिम दर्ता गरिसक्न पनि भनेको छ ।

नयाँ ऐनअनुसार संघीय कार्यान्वयन आवश्यक भएकाले बृहत राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउनेछन् । प्रदेश खेलकुद परिषद् नभएका प्रदेशमा खेलकुद हेर्ने मन्त्रालयले जिम्मेवारी लिनेछन् । राखेप सदस्यसचिव टंकलाल घिसिङले छनोटको डेटलाइन तोक्न नमिल्ने तर जेठ १० गतेसम्म सबै प्रदेशले खेलाडी र टिम दर्ता गरिसक्नुपर्ने बताए । खेलाडी छनोटका लागि राखेपले सबै प्रदेशलाई वजेट सहयोग गर्ने घिसिङले बताए ।

जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा सात प्रदेश र ४ विभागीय गरी ११ टोलीको सहभागिता रहनेछ। बैठकले नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णय गरेको छ। ३५ खेलहरु यसअघि आठौं राष्ट्रिय खेलकुदमा समावेश थिए। यसपल्ट रग्वी सेभेनलाई समावेश गरिएको छ। राखेप सदस्यसचिव घिसिङ रग्वी संघका पूर्वअध्यक्ष हुन्। यो खेललाई सातौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो।

गण्डकी प्रदेशको परम्परागत खेल ठेलो र क्यानोइङलाई यसपल्ट प्रदर्शनी खेलका रुपमा समावेश गर्ने निर्णय राखेपले गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका खेलहरुमा एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की,बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक कराते, आई टिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ र रग्बी सेभेन ए साइड रहेको छ।

नवौँ राष्ट्रियमा करिब ६ हजार ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान राखेपले गरेको छ । यस्तै एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, ११४ संघ प्रतिनिधि र एक हजार निर्णायक हुने राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्