लालबन्दीमा एमालेबाट मेयरको टिकट महतलाई, खड्कालाई झड्का !



सर्लाही । नेकपा एमालेको तर्फबाट पुनः मेयर पदमा चुनाव लड्न मेयर पदबाट राजीनामा दिएका लालबन्दी नगरपालिकाका मेयर मान बहादुुर खड्कालाई मनोनयन दर्ताको अन्तिम समयमा आएर ठुलो झड्का लागेको छ ।
मेयरको टिकट आफ्नो नाममा फैसला भएर आएपछि उमेदवारी दर्ताको तयारीमा लागेका बेला अर्का मेयरका आकांक्षी नेता गोविन्द महतले टिकट लिएर आएपछि खड्का हिस्स भएका हुन् ।
टिकट खोसिएपछि उनलाई झड्का लागेको छ । हिजो मात्रै मेयरमा खड्काको नाम फैसला भएर आएको थियो तर एकाएक नेता गोविन्द महतले आफूले मेयरको टिकट लिएर आएकोले मेयरमा आफुले नोमिनेसन गराउने बताए ।
‘मेयर पदमा पार्टीले मलाई टिकट दिएको छ । मैले चिठ्ठी नै लिएर आएको छु, अब आज उमेदवारी दर्ता हुन्छ ।’ नेता महतले द नेपालटपलाई टेलिफोन मार्फत् भने । मेयरमा उनको नाम टुंगो लागेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको लर्को लागेको छ । केहीले भने टिकटको हारालुछले कार्यकर्तामा अन्यौल भएको प्रतिक्रियाहरु दिएका छन् ।
यता, गोविन्द महतले मेयरको टिकट ल्याएको कुरामा सत्यता नभएको नेकपा एमाले मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले बताए । उनले भने,‘मेयरको फैसला प्रदेश कमिटिले नै गर्ने हो, हामीले लालबन्दी नगरपालिकाको मेयरमा मान बहादुर खड्काकै नाम फैसला गरेका हौं, मेयरको आधिकारीक उमेदवार खड्का नै हुन् । बाँकी कुरा मलाई पनि थाहा छैन । तर आज मेयरमा मान बहादुर खड्काकै उमेदवारी दर्ता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्