युक्रेनको मारिउपोलमा युद्धविराम



एजेन्सी । रुसले युक्रेनको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सो क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि युद्धविराम घोषणा गरिएको हो ।

रुसी फौज सो क्षेत्रबाट ‘सुरक्षित दूरीसम्म’ पछि हट्ने रक्षा मन्त्रालयले जनाएको छ । केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा आफ्नो फौजले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोल शहरको अधिकांश क्षेत्रमा नियन्त्रण स्थापित गरेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने युक्रेनी फौजले अझै पनि रुसी आक्रमणको प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिउपोलमा विजय भएको दाबी गर्ने क्रममा राष्ट्रपति पुटिनले एजोभस्तल क्षेत्रमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्