खहरे नेता छ्यापछ्याप्ती, बिहान पार्टी प्रवेश दिउँसो टिकट



काठमाडौं । पार्टीका मार्गदर्शक सिद्धान्त, नीति, लक्ष्य र उद्देश्यलाई लत्याउँदै अर्को पार्टीमा बुर्कुसी मार्नेहरू स्थानीय तह निर्वाचन मनोनयनमा बाक्लै देखिएका छन् । वर्षौंसम्म एउटै पार्टीका विभिन्न सङ्गठन अनि जिम्मेवारीमा रहेर कार्यकर्ता र शुभेच्छुकहरूलाई प्रशिक्षण दिने, आफ्नो पार्टीबाहेक अन्यलाई दलनै नस्वीकार्नेहरूलाई अन्य दल ‘आफ्नै’ र ‘प्रिय’ लाग्न थालेको छ।

उम्मेदवारी मनोनयन हुने अन्तिम दिन सोमबार दिउँसोसम्म पार्टी परिवर्तन गर्ने ‘खहरे नेताहरू’ यस निर्वाचनले बाक्लै जन्माएको छ। को कुन पार्टीबाट कस्तो पदमा सिफारिस भए भन्दा पनि कसले पार्टी परिवर्तन गरेर पालिकाको महत्ववपूर्ण पद फुत्काउन सफल भयो भन्ने सन्दर्भले अहिले राजनीतिक बजार निकै तातेको छ। उम्मेदवारी दर्ता गराउने दोस्रो दिन सोमबार बिहान नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका नेकपा एमालेका वर्तमान वडा अध्यक्ष पुरुषोत्तम खड्का सोमबार दिउँसो माओवादीका तर्फबाट वडा अध्यक्षको उम्मेदवार भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेर पार्टी प्रवेश गरेका खड्काले ललितपुर महानगर– १८ को वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस त्यागेको आधा घण्टाभित्रमा जाजरकोटको भेरी नगरपालिकाका उपसभापति दलबहादुर राणाले एमालेबाट वडाध्यक्षको टिकट पाएका छन्। उनी एमालेका तर्फबाट भेरी–१० को वडाध्यक्षको उम्मेदवार बनेका छन्। नेकपा एमालेले जनकपुर उपमहानगरमा उपप्रमुखको टिकट दिने भएपछि कांग्रेस नेत्री रुना झा पार्टी परित्याग गर्दैै एमालेका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी छन् ।

कांग्रेसको मधेस प्रदेश समिति सदस्य रहेकी झा सोमबार पार्टी परिवर्तन गरेलगत्तै एमालेका तर्फबाट उपप्रमुखकी उम्मेदवार बनेकी हुन् । झालाई एमाले नेत्री जुली महतोले पार्टी प्रवेश गराएकी हुन् । एमालेका तर्फबाट झापाको कन्काई नगर प्रमुखका आकाङ्क्षी श्यामसुन्दर ओली पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखको उम्मेदवार भएका छन् । प्रमुखको टिकट नपाउने निधो भएपछि उनी उम्मेदवारी दर्ता गराउने पहिलो दिन आइतबार राप्रपा प्रवेश गरेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीलाई पार्टी प्रवेश गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा वीरगंज महानगरमा जनता समाजवादी पार्टी (जसपा)बाट नगर प्रमुख निर्वाचित भएका विजय सरावगी जसपाले यही जिम्मेवारीमा नदोहोर्‍याउने सुइँको पाएपछि गत फागुन अन्तिम साता एमाले प्रवेश गरे । उनी एमालेकै तर्फबाट प्रमुखको उम्मेदवार बनेका छन्।निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका दाङ जिल्ला इन्चार्ज जीवन गौतम पार्टी परिवर्तन गरेर एमाले प्रवेश गरे माओवादी केन्द्रीय सदस्यसमेत रहेका गौतम घोराही उपमहानगर प्रमुखको टिकटको अपेक्षा गर्दै एमाले बनेका भए पनि उनले यो अवसर भने पाउन सकेनन् ।

अन्तिम सयमसम्म पार्टीले उम्मेदवारका लागि नपत्याएपछि दलको सदस्य र भूमिकाबाट अलग हुनेहरू पनि धमाधम बढेका छन् । इलामको सूर्योदय नगरपालिका– ८ का लागि वडा अध्यक्ष दाबी गरेका र सो नगरमा कांग्रेसका उपसभापतिसमेत रहेका रमेश प्रधानले पार्टीको जिम्मेवारीबाट अलग रहने भन्दै सोमबार राजीनामा दिएका छन् ।८० प्रतिशतभन्दा बढी मतदाता आफ्नो पक्षमा रहँदा पनि पार्टीले मनोमानी निर्णय गरेको उनको आरोप छ।

ललितपुरको बाग्मती गाउँपालिका–४ का कांग्रेसका वडा अध्यक्ष एवं क्षेत्रीय सदस्य नारायणबहादुर घलेलाई पार्टीले यही भूमिकामा नदोहोर्‍याउने भएपछि आइतबार एमाले प्रवेश गरे । घलेको नेतृत्वमा ५० जना कांग्रेसका कार्यकर्ता आफ्नो पार्टीका सदस्य बनेका एमालेको दाबी छ। आफ्नो पार्टीबाट टिकट नपाएपछि र नपाउने सुनिश्चित भएपछि दल बदल गर्ने नेताहरू हरेक पार्टीमा छन्।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट अलग भएका रूपन्देहीका नेता मात्रिकाप्रसाद यादव गत साता जसपा प्रवेश गरे । सिद्धार्थ नगरको प्रमुखको अपेक्षा गरेका उनले कांग्रेस छाडेका हुन् । यादव कांग्रेसका पूर्व क्षेत्रीय सभापति थिए । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले गत शनिबार पार्टीबाट अलग भएको घोषणा गरे।नेपालगंज नगरका सहसचिव माओवादी नेता नन्दलाल वैश्य राप्रपा प्रवेश गरेका छन्। राप्रपाबाट नगर प्रमुखको उम्मेदवार रहेका उनले आइतबार मनोनयन दर्ता गराएका छन्।

अघिल्लो निर्वाचनमा राप्रपाका डा. धवलशम्शेर राणा प्रमुख निर्वाचित भएकाले वैश्य अन्य दलका उम्मेदवारलाई टक्कर दिने बलिया उम्मेदवार मानिन्छन्। यस नगरमा एमालेका तर्फबाट पशुपति दयालले प्रमुखका लागि मनोनयन दर्ता गराएका छन्। विगतमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र कांग्रेसबाट राजनीति गरेका उनले एमाले प्रवेश गरेपछि यो मौका पाएका हुन् । ३ कार्यकाल नगर सभापति रहेका प्रशान्त विष्ट कांग्रेसबाट प्रमुखका उम्मेदवार छन् ।

धमाधम स्वतन्त्र उम्मेदवार
गठबन्धन तोडेर आफ्नै पार्टीबाट उम्मेदवार बन्ने मात्र होइन, पार्टीले टिकट नदिने भएपछि पार्टी नै परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनेहरू पनि उत्तिकै छन् । प्रायः हरेक जिल्लामा स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

ललितपुरको बाग्मती गाउँपालिका–५ मा कांग्रेसका वडा अध्यक्ष रहेका विष्णु तिमल्सिनाले पालिका अध्यक्षको दाबी गरिरहेका बेला टिकट नपाएपछि कांग्रेस परित्याग गर्दै पालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धन दलबीच उपमहानगरमा जसपाले प्रमुख पद पाउने भएपछि जनकपुर उपमहानगरका कांग्रेस सभापति मनोजकुमार साह निकै असन्तुष्ट थिए ।

गठबन्धन दलले निर्णय सच्याउने अपेक्षा गरेका उनले निर्णय हेरफेर नहुने निधो भएपछि शुक्रबार कांग्रेसबाट अलग हुने निर्णय गरे। साहले जनकपुर उपमहानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारका आकाङ्क्षीलाई व्यवस्थापन गर्न नसकेर विवाद चुलिएपछि एमालेका इलाम नगरपालिका कमिटी अध्यक्षसहित नगर पदाधिकारीले सामूहिक राजीनामा गरेका छन् । इलामकै एमाले जिल्ला सचिवबाट राजीनामा दिएका उमेश गुरुङले सन्दकपुर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका कारण धेरै तहमा स्वतन्त्र उम्मेदवारी दिनेहरू बढेका छन्।

गठबन्धन दलकै कारण राजनीतिको ‘हट केक’झैँ बनेको चितवनको भरतपुर महानगरमा असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताले पूर्वसांसद एवं नेता जगन्नाथ पौडेललाई स्वतन्त्रबाट प्रमुखको उम्मेदवार बनाएका छन्। नीति, सिद्धान्त बिर्सिएर पार्टीले मनोमानी निर्णय गरेकाले आफूहरू दल त्याग गर्न बाध्य भएको पार्टी छाड्नेहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्