पुटिन भन्छन् : रुस युक्रेन युद्धको अझै पनि शान्तिपूर्ण समाधान हुन सक्छ



एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भयो । रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेको थियो। त्यसपछि सैनिकसहित हजारौं मानिसको मृत्यु भइसकेको छ ।

युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसकेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिपूर्ण समाधानको कुरा गरेका छन् । भ्लादिमिर पुटिनले मस्कोले अझै पनि युक्रेनसँग शान्तिपूर्ण समाधानको आशा गरेको बताए ।

मंगलबार संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा पुटिनले गत महिना टर्कीको इस्तानबुलमा रुसी र युक्रेनी अधिकारीबीच भएको वार्ता केही सकारात्मक भएको बताए ।

उनले युक्रेनी अधिकारीहरूले क्रिमिया र पूर्वी युक्रेनको पृथकतावादी क्षेत्रहरूको स्थितिमा आफ्नो अडान परिवर्तन गरेको र यी विषयहरू दुवै देशका राष्ट्रपतिहरूलाई छलफल गर्न छोडिएको बताए । भ्लादिमिर पुटिनले युक्रेनको अडान परिवर्तनले भविष्यमा हुने कुनै पनि सम्झौतालाई कठिन बनाउने बताएका छन् ।

मंगलबार पुटिनले युक्रेनसँग शान्तिपूर्ण समाधानको आशा व्यक्त गरे पनि अर्कोतर्फ भने रुसले पूर्वी युक्रेनमा आक्रमण गरेको थियो । आक्रमणमा पूर्वी र दक्षिणी युक्रेनका सहरहरूमा रुसी आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्