ब्युँताइयो असफल २ दिने बिदा



काठमाडौं । विगतमा अभ्यास गरिएको तर व्यावहारिक नरहेको ठहर गर्दै हटाइएको २ दिने सार्वजनिक बिदा सरकारले पुनः ब्युँताएको छ । यसअघि १ सा उन २०५६ देखि काठमाडौं उपत्यकामा लागू भएको २ दिने बिदा सरकारी कामकाज प्रभावित भएको भन्दै खारेज गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा सुरु गरिएको यस्तो अभ्यास वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो कार्यकालका बेला २०५९ वैशाखदेखि हटाइएको थियो । अहिलेको बिदा भने देशभर लागू हुनेछ । गत साताको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ‘हाललाई परीक्षणको रूपमा १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ’, उनले भने ।

गृह मन्त्रालयले यसअघि गत फागुन अन्तिमसाता यस वर्षका लागि शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद् बैठकले बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने गरी सातामा २ दिन यस्तो अभ्यास सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चिति घटेपछि यस्तो विकल्पमा जानुपर्ने विज्ञहरूको सुझावका आधारमा सरकारले २ दिन सार्वजनिक बिदा घोषणा गरेको हो।

इन्धनको आपूर्ति घटाउँदै अन्तर्राष्ट्रिय व्यापार घाटा न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले पनि २ दिन सार्वजनिक बिदा तोक्न सरकारलाई सुझाव दिएको थियो । लगातार २ दिन सार्वजनिक बिदा हुँदा सरकारी कार्यालयको काम कारबाही प्रभावित हुने, सरकारले लिएका लक्ष्य र उद्धेश्य प्राप्त हुनेमा प्रशासनविद्हरूको आशङ्का छ। अमेरिकालगायत युरोपेली देशहरूमा रहेको यस्तो अभ्यास नेपालमा नक्कल गर्न खोजिएको बताउँदै पूर्वसचिव श्यामप्रसाद मैनाली भन्छन्, ‘यसले पक्कै पनि कर्मचारीहरूलाई उत्साहित गर्नेछ तर सरकारले बिदाको सुविधा दिएअनुसार कर्मचारीहरूबाट रिजल्ट लिन सक्नुपर्छ।’

बिदाका दिनमा सवारीको चाप घटेपछि आंशिक रूपमा काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने तर इन्धनबाहेक अन्य सरकारी खर्च कटौती नहुने उनको विश्लेषण छ । सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन समाजको व्यवहार र आचरणमै सुधार हुनुपर्नेमा मैनाली जोड दिन्छन्। ‘विगतमै परीक्षण गरिएको २ दिनको बिदा चर्को आलोचनापछि फिर्ता भएको थियो’, उनले द नेपालटप दैनिकसँग भने, ‘यो निर्णय पनि लामो समयसम्म कार्यान्वयन हुनेछैन ।’ उनी जस्तै अन्य प्रशासनविद्हरू पनि यस्तो बिदाले कर्मचारीलाई अझ अल्छी बनाउने ठहर गर्छन्।

बिहान ९.३० मा कार्यालय पुग्ने कर्मचारीहरू साँझ ५.३० सम्म बस्नेमा उनीहरूको आशङ्का छ । शनिबार र आइतबारको बिदा शैक्षिक संघसंस्थामा पनि लागू हुनेछ । २ दिने बिदा सधैँलाई निरन्तरता दिन अन्य सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी छ । सरकारको यस्तो निर्णय गरेसँगै संस्थागत विद्यालयले पनि पठनपाठनको समय अवधि हेरफेर गर्ने भएका छन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुङ्गाना सरकारी कार्यालय सुरु हुने र छुट्ने समयसँग नजुध्ने गरी संस्थागत विद्यालयहरूले पनि समय अवधि हेरफेर गर्नै पर्ने बताउँछन्।

‘कार्यालय र विद्यालय समय एउटै समयमा भयो भने ट्राफिक जाम र अन्य व्यावहारिक समस्या हुने भएकाले हामीले समय हेरफेर गर्नै पर्छ’, उनले भने।विद्यालयका लागि बिहान ९ बजेदेखि ४ बजेको समय उपयुक्त हुने ढुङ्गानाको ठहर छ। अहिले अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक÷कर्मचारीहरुलाई कक्षा सुरु हुनुभन्दा आधा घन्टाअघि र कक्षा सकिएपछि आधा घन्टा बढी खटाउने गरेका छन् । २ दिने बिदा कार्यान्वयन गर्ने/नगर्नेबारे विद्यालय सञ्चालक र अन्य सरोकारवालासँग छलफल गरेर मात्र निर्णय हुने ढुङ्गानाले बताए ।

प्रतिक्रिया दिनुहोस्