काठमाडौंमा अब व्यापारिक कम्पलेक्स बन्दैनन्, जेष्ठ नागरिक भवन बन्छन् : सिंह



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरमा अब व्यापारिक कम्पलेक्सको सट्टा जेष्ठ नागरिक भवन बन्ने दावी गरेकी छन् । बुधबार शिक्षक संघ महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा सिंहले व्यापारिक कम्पलेक्स पर्याप्त भइसकेकाले अब जेष्ठ नागरिक भवन र टोल–टोलमा पार्क बनाउने उल्लेख गरिन् ।

सिंहले महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छता आफ्नो प्रमुख एजेन्डा भएको बताएकी छन्। सिंहले महानगरवासी सबैको पहुँचमा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने आफ्नो पहिलो एजेन्डा भएको उल्लेख गरकी हुन् ।

उनले भनिन्, ‘शिक्षक पेशा भनेको मानिसलाई असल नागरिक बनाउने पेशा भएकोले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षकको हो । म मेयर हुँदै गर्दा सार्वजनिक शिक्षाको समस्या समाधान गर्न अभिभावक भएर काम गर्ने प्रतिवद्वता गर्छु ।’ सिंहले सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश नबन्ने पनि स्पष्ट पारेकी छन् ।

काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन्। ‘महानगरमा अस्पताल गरिब,  दु:खी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन।

महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको समेत साझा उम्मेदवार सिंहले अहिलेको नेतृत्वले फोहर समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताएकी छन् ।

‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौँ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्।

प्रतिक्रिया दिनुहोस्