किन दोहोर्‍याइन्छन् झूटा र असम्भव आश्वासन ?



काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा एक जना उम्मेदवारको प्रतिबद्धतापत्र भाइरल भयो । स्वतन्त्र उम्मेदवारका रूपमा उनले पालिका अध्यक्षका लागि उम्मेदवारी दिए । उनले गाउँवासीलाई राम्रै आश्वासन दिए । उनको प्रतिबद्धता थियो-हेलिकोप्टरबाट बिउ छर्ने, हेलिकोप्टरबौटै सिँचाइ गर्ने ।

कस्तो गज्जब योजना ! यही उनको प्रतिबद्धतालाई पढेर/सुनेर उनलाई मतदाताले मत दिनेछन्। कस्तो गज्जब विश्वास मतदाताको ! डडेल्धुराको भागेश्वर गाउँपालिकाका खडक ठकुराठीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनको घोषणापत्रमा उक्त आश्वासन उल्लेख छ । भलै, उनले जित्लान् वा नजित्लान्, आँकलन नगरिहालौँ तर उनलाई उनीबाहेक पनि केहीले त अवश्य मत दिन्छन्। उनले गरेको प्रतिबद्धता अघोरै असम्भव पनि होइन तर हाम्रो आर्थिक, सामाजिक, राजनीतिक अनेक अवस्था र बाध्यता अनि भौगोलिक परिवेशका कारण अहिल्यै वा केही वर्ष अझै यो दिवास्वप्नभन्दा बढी भने होइन।

विगतमा पनि नेपाली समाजमा निर्वाचनका समयमा नेताहरूले राम्रै, गतिलै र ठूलै आश्वासनहरू बाँडेका हुन् । ती आश्वासनलाई जितेर गएपछि फर्किएर हेर्न भने भ्याएनन्। न त उनीहरूलाई मत दिएर विजयी गराउनेहरूले नै आफ्ना जनप्रतिनिधिलाई ती आश्वासनबारे सम्झाउन चासो देखाए । अहिले फेरि निर्वाचन आएको छ । संविधानले व्यवस्था गरेअनुसार ३ तहमध्ये स्थानीय तहको निर्वाचन हाम्रो सङ्घारमै आइपुगेको छ र केही दिन मात्र बाँकी छ मत हाल्न ।

यसबेला नेताहरू आ–आफ्ना घोषणा÷प्रबिद्धतापत्र बोकेर जनता (मतदाता)का घरदैलोमा जोर हात गर्दै आइरहेका छन् । हरेकजसो उम्मेदवारले घोषणा/प्रतिबद्धतापत्र बनाएका छन् । तिनै पत्रहरू मतदाताका हातहातमा थमाउँदै मत आफूलाई दिन अनुरोध गरिरहेका छन् । घोषणा/प्रतिबद्धतापत्रमा स्थानीय आवश्यकताका नयाँ सबाल त हुने नै भए, वर्षौंदेखि पटकपटक घोषणा/प्रतिबद्धता गरिएका विषयसमेत यसपालि पनि समेटिएका छन् । कतिपयले खानेपानीका धारा बनाइदिने त कतिले बिजुली बालिदिने प्रतिबद्धतालाई वर्षौंदेखि निरन्तरता दिइरहेकै छन् । तर, ती प्रतिबद्धता भने आजसम्म पूरा भएका छैनन् । जब निर्वाचन आउँछ अनि मात्र मतदाताका गुनासा आउँछन्– जितेर गएपछि नेता फर्किएनन् ।

कुनै पनि प्रतिबद्धता पूरा गरेनन् । र, निर्वाचनमा पुनः उनै नेतालाई मत दिएर मतदाता ५ वर्ष फेरि सुस्ताउँछन् । विजयी भएर जाने जनप्रतिनिधिले पहिला गरेको बाचा भुलिसकेको हुन्छ र पुनः त्यही प्रतिबद्धता दोहोर्‍याउँदै मत माग्न आउँछ, उनै मतदातासँग– निर्लज्जतापूर्वक । एक मतदाता भन्छन्, ‘हामी नै उस्ता हौँ, विगतमा नेताले गरेको देखेर, भोगेर पनि चेत्दैनौँ । चुनाव जित्न अनेक झूटा लोभ (आश्वासन) देखाउँछन्, हामी पत्याउँछौँ र फेरि तिनैलाई भोट दिन्छौँ ।’

आखिर किन यसरी असम्भव, झूटा र पूरा नगर्ने आश्वासन दिन्छन् नेता ? एक मनोविद् भन्छन्, ‘राजनीति भनेको जसरी भए पनि जित्नुपर्ने, सत्ता र शक्तिमा पुग्नुपर्ने बन्दै गयो हामीकहाँ, यही कारण झूट र असम्भव कुराको सहारा लिन पनि नेता पछि पर्दैनन्।’ उनका अनुसार राजनीतिमा जित प्रतिष्ठा र शानको विषय पनि बनेको छ । यही कारण सामाजिक प्रतिष्ठा र व्यक्तिगत शानका निम्ति उम्मेदवार असम्भव कुराहरूको आश्वासन दिएर र लोभ देखाएर मत मागिरहेको छ ।

लामो समयदेखि सत्ता र शक्तिमा रहिरहेका राजनीतिक दलका मात्र नभएर स्वतन्त्र वा बागी उम्मेदवारका घोषणा/प्रतिबद्धतापत्रमा समेत झूट र असम्भव आश्वासनका फूलबुट्टा राम्रैसँग भरिएका पाइन्छ । यसबारे एक समाजशास्त्रीको मत भने अलिक फरक छ। उनी उम्मेदवारको प्रतिष्ठा र शानसँगै यसलाई अर्थ (पैसा)सँग पनि जोड्छन् । उनको भनाइ छ, ‘अहिले चुनाव उठ्नु आर्थिक हिसाबले निकै जोखिमपूर्ण छ।

सामान्य गाउँपालिकाको वडामा चुनाव उठ्नसमेत लाखौँको हिसाबमा खर्च लाग्छ, तब उक्त खर्च उपर गर्न पनि उम्मेदवारले जित्नै पर्ने अवस्था छ।’ उनका अनुसार निर्वाचनमा गरिएको खर्चको असुल उपर भने राज्यकोष (पालिका)बाट उठाउनेछन् जनप्रतिनिधिले । यही कारण उम्मेदवारले झूटा, पूरा नहुने र अस्वाभाविक आश्वासन बाँड्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्