१८ वटा कुकुरले आफ्नै मालिकलाई खाए !



काठमाडाैं : अमेरिकाको टेक्सासमा एक महिनादेखि बेपत्ता एक व्यक्तिलाई उसैले पालेको १८ वटा कुकुरले खाएको अमेरिकी अधिकारीले जनाएका छन्। कुकुरको मलमा भेटिएको हड्डीको टुक्राको डिएनए परिक्षण गराउँदा ५७ वर्षीय फ्रेडी म्याकको रहेको पत्ता लागको मेडिकल परिक्षकले जनाएका छन्।

विभिन्न प्रजातिका १८ वटा कुकुरले कपडा र कपालसहित म्याकको पुरै शरीर खाएको र २ देखि ५ इन्चसम्मका हड्डीका टुक्रा बाहेक केही पनि बाँकी नराखेको एक अधिकारीले जनाएका छन्।  केही समयदेखि म्याक निक्कै बिरामी अवस्थामा रहेका कारण उनलाई कुकुरले मारेर खाए वा उनको मृत्युपछि शवलाई खाए भन्नेबारे स्पष्ट हुन नसकेको बताइएको छ।

गत मे महिनामा एक आफन्तले म्याक बेपत्ता भएको सुचना दिएका थिए। त्यस्तै गत अप्रिलदेखि म्याकका परिवारले उनलाई नदेखेको ती आफन्तले बताएका छन्। म्याकका आफन्तले उनको घर गएर उनको खबर बुझ्न खोज्दा कुकुरले रोकिदिए। कुकुरको ध्यान अन्तै मोडेर जब सरकारी अधिकारी म्याकको घर पुगे, उनीहरुले म्याकलाई भेटेनन् र फर्किए।

यद्यपि, घासमाथि मानव कपाल, हड्डी र कपडा उनीहरुले भेटे। ती हड्डीको टुक्रालाई डिएनए परिक्षण गरिेयो र त्यो म्याककै हो भन्ने पत्ता लाग्यो। म्याकले पालेका १८ वटा कुकुरमध्ये दुई आफ्नै साथीहरुले मारे, बाँकी १३ वटालाई उनीहरुको आक्रामक व्यवहारका कारण मारियो र अन्य तीनलाई पाल्नका लागि अन्यत्रै लगियो।

प्रतिक्रिया दिनुहोस्