बजार नपाउँदा व्यावसायिक कृषकमा निराशा



काठमाडौं । सरकारले सहकारी मार्फत कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने नीति लिएको छ। तर, कृषकको उत्पादनलाई बिक्री गर्ने बजारको सुनिश्चितता नहुँदा कृषकमा निराशा छाएको व्यवसायी बताउँछन्। बजार नपाएर कृषकले उत्पादन गरेका वस्तुको मूल्य नपाउँदा व्यवसायी कृषकहरुमा निराशा बढेको नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठक बताउँछन्।

कृषकले उत्पादन गरेको वस्तुलाई सरकारले बजारको सुनिश्चितता गरिदिने हो भने कृषिमा सहजै रुपमा आत्मनिर्भर हुने अध्यक्ष पाठकको भनाइ छ। अध्यक्ष पाठक कृषकले उत्पादन गरेको वस्तुलाई बिक्री गर्न निश्चित बजार नहुँदा किसानले उत्पादन गरेको कृषिजन्य वस्तु खेतबारीमै कुहाउनुपर्ने अवस्था रहेको बताउँछन् ।

पाठक भन्छन्, ‘सरकारले कृषि सहकारीमार्फत कृषिको उत्पादन बढाउन नीति लिएको छ ।’ ‘सरकारको नीति अनुरुप कृषि सहकारीले संस्थाले कृषि उत्पादन बढाउन ठूलो भूमि छ । तर बजार छैन’, उनी भन्छन्, ‘बजार नहुँदा आफ्नो उत्पादन सस्तोमा विचौलियालाई दिन कृषक बाध्य छन् ।’अध्यक्ष पाठकका अनुसार उत्पादन क्षेत्रमा सहकारीको करिब १ खर्ब २५ करोड रुपैयाँ लगानी रहेको छ। कृषि क्षेत्रमा लगानी गर्ने करिब २ हजार ५०० केन्द्रीय सहकारी सङ्घ रहेका छन् ।

कृषि सहकारी सदस्य करिब १३ लाख छन्। कृषि सहकारी संस्थामार्फत ५० हजारको अवसर पाएका छन् । मासु, दूध र तरकारी उत्पादनमा सहकारीको लगानी रहेको उनको जानकारी दिए । यसैगरी उनले साना माझ्यौला उद्योगहरुमा पनि सहकारीको लगानी रहेको बताए । उनले भने, ‘कृषकले खेतीबारीमा रोग किरा लाग्दा उपचार गर्ने कृषि प्राविधिक खोज्दा पनि कृषकले पाउँदैनन्।’

सरकारसँग हामीले प्राविधिक माग्दा पनि नदिन नसकेको उनले बताए। सरकारले कृषि प्राविधिक उपलब्ध नराउन नसक्दा कृषि सहकारी संस्थाले आफै प्राविधिक खोजी रहेको उनले बताए । कृषि क्षेत्रको उत्पादन बढाउन र मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई कृषि विज्ञ, प्राविधिक, सिँचाइ र मल समयमा उपलब्ध गर्नुपर्ने अध्यक्ष पाठकको भनाइ छ ।

दैनिक ५ करोड पैसा गाउँमा
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटा भन्छन्, ‘दुग्ध सहकारीले दैनिक ९ लाख लिटर दूध सङ्कलन गर्दै आएको छ । गाउँका साना–साना कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी बजारमा पुर्‍याउने काम दुग्ध सहकारीले गर्दै आएको उनले बताए ।

उनका अनुसार साना किसानले उत्पादन गरेको दूध शहरमा बिक्री गरी दैनिक करिब ५ करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेको छ। बजारको सुनिश्चितता नहुँदा पछिल्लो समय कृषकले दूध उत्पादन गर्ने छोडेर विकल्प रोज्न थालेको अध्यक्ष देवकोटाको भनाइ छ। दूध होलिडेले गर्दा दूध उत्पादन गर्ने व्यवसायी कृषकले विकल्प जान थालेको उनले बताए।देवकोटाका अनुसार करिब ८६० सहकारीहरु केन्द्रीय दुग्ध सहकारी सङ्घसँग जोडिएका छन् ।

उक्त सहकारी संस्थाले दैनिक ९ लाख लिटर दूध सङ्कलन गरी बिक्री गर्ने गरेका छन् । सहकारी संस्थाले सङ्कलन गरेको दूध सरकारी दुग्ध विकास संस्थाले (डीडीसी)ले नलिँदा कृषकले उत्पादन गरेको दूध बिक्री नहुने समस्या रहेको अध्यक्ष देवकोटाको भनाइ छ। राष्ट्रिय सहकारी सहासङ्घका अध्यक्ष मीनराज कँडेल सहकारीको उत्पादन क्षेत्रमा ठूलो योगदान रहेको बताउँछन्। उनले पछिल्लो समय दूध, तरकारी, फलफुल र मासुको उत्पादन वृद्धिमा सहकारीको योगदान रहेको बताए।

कृषि सहकारी मात्र नभएर उत्पादन क्षेत्रमा पछिल्लो बहुउद्देश्यीय सहकारीले लगानी लगाएर उत्पादन बढाइरहेको अध्यक्ष कँडेलको भनाइ छ। उनले दुग्ध सहकारी संस्था मात्र १ हजार ७०० भएको जानकारी दिए ।

कुल लगानीको ३० प्रतिशत उत्पादन क्षेत्रमा
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती कुल लगानीको ३० प्रतिशत सहकारी बैंकको उत्पादन क्षेत्रमा रहेको बताउँछन्। राष्ट्रिय सहकारी बैंकको करिब ३८ अर्बको लगानीमा ३० प्रतिशत उत्पादन क्षेत्रमा रहेको उनले जानकारी दिए। ३० प्रतिशतबाट ५० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्ने सहकारी बैंकको अबको योजना रहेको अध्यक्ष उप्रेतीले बताए।

सरकारसँग तथ्याङ्क छैन
योजना बनाउँदा तथ्याङ्क अति आवश्यक हुन्छ । दुःखका साथ भन्नुपर्छ सरकारी कार्यालयमा तथ्याङ्क खोज्न जाँदा आधिकारिक तथ्याङ्क पाउन मुस्किल छ। सही योजना र प्रभावकारी कार्यक्रम तयार गर्न तथ्याङ्क हुनु अति आवश्यक हुने जानकार बताउँछन्।

तर सहकारी विभागसँग सहकारीको उत्पादन क्षेत्रका कति लगानी भन्ने विभागलाई नै थाहा छैन । सरकार सङ्घीय प्रणालीमा गएपछि विभागले तथ्याङ्क गर्न नसकेको विभागका उप–रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए । आर्थिक वर्ष २०७४ यता विभागले सहकारीको तथ्याङ्क गरी कुन क्षेत्रगत रूप विश्लेषण गर्न नसेको बताए।

उनले सहरकारीको क्षेत्रगत रूपमा सहकारीको पुँजीगत लगानी, सदस्या सङ्ख्या र संस्थाको सङ्ख्याको विवरण लिन विभागले कोपोमिस प्रणाली मार्फत तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिए । विभागका अनुसार २५ वैशाखसम्म कोपोमिस प्रणाली ३ हजार ९७० वटा सहकारी दर्ता भएका छन् ।
कृषि सहकारीको लगानी ५ अर्ब
विभागले अध्ययन गरेको आर्थिक वर्ष २०७४ को तथ्याङ्कअनुसार कृषिमा सहकारीको ५ अर्ब ८ करोड ५८ लाख १० हजार रुपैयाँ लगानी रहेको छ । कृषि सहकारी संस्था १० हजार ९२१ रहेका छन् । यस्तै दुग्ध सहकारी संस्था १ हजार ६५८ वटा छन् भने पुँजीगत लगानी ३३ करोड ९८० रुपैयाँ छ ।

यसैगरी तरकारी तथा फलफुल सहरकारी संस्थाको सङ्ख्या १९३ वटा रहेको छ भने लगानी ४ करोड ३४ लाख १२ हजार रुपैयाँ, चिया क्षेत्रमा १०८ वटा संस्था र ११ करोड ८ लाख ५९४ रुपैयाँ लगानी रहेको छ । यसैगरी कफी क्षेत्रमा १५५ वटा संस्था र १ करोड २४ लाख ४७ हजार रुपैयाँ लगानी रहेको छ भने जडिबुटीमा १८६ वटा संस्था ६ करोड ३७ लाख ४१ हजार रुपैयाँ लगानी रहेको छ ।

यस्तै मौरीपालनमा ९३ वटा संस्था छन् भने ९२ लाख ९४ हजार रुपैयाँ लगानी छ रहेको छ । यस्तै उखुमा ४८ वटा संस्था ६३ लाख ३५ हजार रुपैयाँ र जुनार ४५ वटा संस्था र २२ लाख ८८ हजार रुपैयाँ लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्