कलाकारको चाहना बालेन



काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट प्रमुख पदमा स्वतन्त्र पदमा उम्मेदवारी दिइरहँदा र्‍यापर बालेन शाह जति चर्चामा थिए, निर्वाचन सम्पन्न भएपछिको मत गणना चलिरहँदासम्म उनको चर्चा सेलाएको छैन ।

प्रारम्भिक चरणको मत गणनामा प्रमुखका प्रमुख दाबेदार अन्य २ उम्मेदवार केशव स्थापित र सिर्जना सिंहको भन्दा बढी मत ल्याइरहँदा शनिबार उनी सामाजिक सञ्जालमा छाइरहे। मतदाताको घरदैलो पुगेर भोट मागेको भिडियो सामाजिक सञ्जालमा उत्तिकै ‘भाइरल’ बन्यो । सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा खुला रूपमा नै उनलाई समर्थन गरे र मतदान पनि गरे । उनीहरूको चाहना बालेनले नै प्रमुख जितून् भन्ने छ।

महानगरको नेतृत्वमा नयाँ अनुहार अझ युवा पुस्ता आउन भन्ने उनीहरूको धारणा छ। निर्देशक दीपेन्द्र के. खनाल महानगरको प्रमुख पदमा आइरहेको परिणामलाई काठमाडौंका जनताले परिवर्तन खोजिरहेका छन् भन्ने उदाहरणका रूपमा लिन्छन्। ‘यो परिणाम ठूला राजनीतिक दललाई एउटा व्यङ्ग्य जस्तै हो । स्वतन्त्र उम्मेदवारले जित्दा सुधार गर्नुपर्ने ठाउँमा ठूला पार्टीका नेतृत्व झस्किन्छन् कि भन्ने सन्देश जान्छ’, दीपेन्द्र भन्छन्, ‘यसअघि हामीले धेरै उम्मेदवारलाई महानगरको नेतृत्व तहमा पठाइसकेका छौँ । उहाँहरूबाट हामीले उल्लेख्य नतिजा पाउन सकेनौँ । त्यही कारण बालेन या अन्य कोही युवा अनुहारलाई पठाउन सकियो भने केही परिवर्तन आउँछ कि भन्ने आशा हो ।’

अभिनेता सरोज खनालले केशव स्थापितको उदाहरण दिँदै घुमाउरो शैलीमा बालेनलाई नै चाहेको खुलाए । ‘सुरुमा केशवजी नयाँ हुनुहुन्थ्यो । उहाँले बाटो निर्माणदेखि धेरै राम्रा कामहरू गर्नुभयो । अर्को पार्टीको सरकार हुँदा पनि उहाँलाई नै प्रमुखको रूपमा चाहेको हामीले देखेकै हौँ’, सरोज भन्छन्, ‘त्यस कारण म आम मतदाताझैँ नयाँ परिवर्तन चाहिरहेको छु । हामीले पुराना सबै अनुहार हेरिसक्यौँ । परिवर्तन ल्याउन सक्ने योग्य व्यक्तिलाई मतदाताले चाहेका छन् ।’ साङ्गीतिक पृष्ठभूमिका भएकाले पनि बालेनसँग गायक स्वरूपराज आचार्यको राम्रो सम्बन्ध छ ।

त्यही कारण उनको चाहना पनि काठमाडौं महानगरको प्रमुख बालेन नै होऊन् भन्ने छ। ‘शुक्रबारको काठमाडौं महानगरपालिकाको मतदान अनुपातलाई हेर्दा जनता पुरानो अनुहारसँग रुष्ट छन् भन्ने प्रष्ट देखियो। जनताले कांग्रेस, कम्युनिस्टलगायत अन्य पार्टीलाई वर्षौंदेखि हेर्दै आएका छन्’, स्वरूप खुल्छन्, ‘बालेन राजनीतिमा अनटेस्टेड पात्र भए पनि ऊसँग युवा जोश छ। अरूले प्रमाणित नगरेको कुरालाई उसले प्रमाणित गरेर देखाउन सक्छ भन्ने मलाई लाग्छ। पेसाले इन्जिनियर भएकाले पनि उसमा अन्य नेताकोजस्तो हावादारी कुरा गर्ने बानी छैन।

उसको भिजन स्पष्ट छ।’ लोकगायिका मञ्जु पौडेल गायक स्वरूपको भनाइमा समर्थन गर्छिन्। राजनीतिक अनुभव नभएका व्यक्ति नेतृत्वमा आए केही परिवर्तन हुने उनको विश्वास छ। ‘मूलधारको राजनीतिमा धेरै समय नखर्चिएका मान्छे आउँदा केही अप्ठ्यारो त होला तर उहाँहरूले सिकेर भोलि राम्रो गर्नुभयो भने त्यो समाज र देशका लागि फाइदाजनक नै हुन्छ’, मञ्जु भन्छिन्, ‘देश चलाउने भनेको युवाले नै हो। सरकारी कार्याल्यमा जाँदा अझै पनि नेपाली कागजको ढड्डामा अभिलेख राखिएका छन्। प्रविधिले फड्को मारिरहँदा हामीले त्यसलाई पछ्याउन सकेनौँ ।

त्यो पछ्याउने भनेको युवा पुस्ताले नै हो ।’ बालेनमा राजनीतिक अनुभव नभए पनि उनमा काम गर्ने क्षमता छ भन्नेमा आफू विश्वस्त रहेको मञ्जुको दाबी छ। अभिनेत्री नीता ढुङ्गाना आफूहरूले यसअघिका प्रमुख र उपप्रमुखको भिजनलाई हेरे पनि त्यसमा केही प्रगति नदेखेर त्यो प्रगतिलाई पूर्णता दिन बालेन आवश्यक रहेको बताउँछिन्। ‘उहाँमा काठमाडौंलाई म यस्तो गर्छु, उस्तो गर्छु भन्ने भिजन छैन तर काठमाडौंको समस्यालाई पूर्ति गर्छु भन्ने अठोट छ’, उनी भन्छिन्, ‘उहाँको भिजनअनुसार काम गर्नुभयो भने त्यो काठमाडौंका लागि धेरै राम्रो हो ।

भिजनअनुसार त्यसको व्यवस्थापन गर्न सक्नुहुन्छ जस्तो लाग्छ।’ अभिनेत्री वर्षा राउतको समर्थन पनि बालेनप्रति नै छ। अन्य नेताले आश्वासन मात्र दिने भए पनि बालेनको भिजन ‘क्लियर कट’ रहेको वर्षाको दाबी छ। उनले पहिलेदेखि नै राम्रो मान्छेले जितोस् भनेर मतदान गर्दै आइरहे पनि यस पटक भने आफूहरूले साँच्चै नै राम्रो मान्छेलाई जिताउन समर्थन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्