गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु



भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ। कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले साेमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो।विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय  सेनाले उडान गरेको थियो। सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो।  साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ। अहिले जजिराले  १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ। जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ। सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियाे। करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ।

पूर्वाधारको काम अझै बाँकी रहेकाे र  यसलाई विस्तारै बढाउदै लैजाने बताइएकाे छ। पहिलाे अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्