विवेकशील साझाले भन्यो : स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआएकाले अत्यन्तै दुःखी छौं



काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय निर्वाचन-२०७९ को परिणाम आउने क्रम जारी छ । विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन् ।

मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, सङ्‍घीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो । तीन तहको निर्वाचनबाट देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन् ।

तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ ।

नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ । पार्टीले मतदातासँग क्षमा पनि मागेको छ ।

‘हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो । हामी त्यसमा क्षमा प्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ । मिश्र नेतृत्वको पार्टीले हालै ‘विचारभन्दा माथि देश’को राजनीतिक कार्यदिशा अंगालेको छ । यसलाई धेरैले मन पराएका छैनन् । सोही कारण पार्टीमा विवाद पनि भएको प्रवक्ता पाठकले स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्