इजिप्टमा पानीमुनि भेटियो १२ सय वर्ष पुरानो मन्दिर (भिडियो सहित)



काठमाडौं : १२ सय वर्षअघि इजिप्टको उत्तरी किनारामा समुद्रभित्र डुबेको हेराक्लिओन शहर इजिप्ट र युरोपका पुरातत्त्वविद्हरूले मिलेर पत्ता लगाएका छन्। पुरातत्त्वविद्हरूका अनुसार, हजार वर्षअघि शहरसँगै केही डुंगा पनि डुबेका थिए। खोजीको क्रममा तामाका सिक्का र गरगहना पनि फेला परेका छन्। पानीमुनिको शहरलाई स्क्यानिङ डिभाइसले खोजिएको हो।

सन् २००० मा गोताखोरहरूले पानीमुनिको शहर देखेका थिए। त्यसपछि शहरको भग्नावशेषका बारेमा अध्ययन चलिरहेको छ। पुरातत्त्वविद्हरूले एक ग्रिसेली मन्दिरको भग्नावशेष अनि गरगहना सहितको डुंगा पत्ता लगाएका छन्। प्राचीन खम्भाहरू, दुई हजार वर्ष पुरानो माटोका सरसामान र राजा टोलेमीको पालाका तामाका सिक्काहरू पत्ता लागेका छन्। 

प्राचीन ग्रन्थहरूमा हेराक्लियनको चर्चा कताकति भेटिन्छ। तर यो मिथकीय कुरा मात्र भएको भन्ने विश्वास गरिन्थ्यो। नाइल नदीको प्रवेशद्वारमा रहेको यो शहर इजिप्टको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक बन्दरगाह थियो। त्यहाँ अग्ला मूर्ति, विशाल मन्दिरहरू तथा अनेकौं नहरहरू रहेको बताइन्छ। 

नाइलको बालुवामा शताब्दियौंसम्म पुरिएका अनेकौं भग्नावशेषहरू हजार वर्ष बित्दा पनि उस्तै अवस्थामा फेला परेका छन्। अन्डरवाटर पुरातत्त्वविद्हरूले उच्च प्रविधिको स्क्यानिङ डिभाइस उपयोग गरेर प्राचीन बस्तीमा केही भाग पत्ता लगाएको इजिप्टको पुरातत्त्व मन्त्रालयले जनाएको छ। हेराक्लियोन शहरमा जलस्तर बढ्दै गएपछि त्यो डुबेको हुनसक्ने पुरातत्त्वविद्हरूले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्