हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित



काठमाडौं । देशभर हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार अपरान्ह ३ः३० बजेको विवरणअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष २ हजार ६७९ ५ हजार ३१८ सदस्य, महिला सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोधसमेत गरी निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १३० पालिकामा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको जानकारी दिएका छन् ।

यस्तै आयोगले शुक्रबार निर्वाचन अवरुद्ध भएका २९, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने २ र गोरखा चुनगुम्ब्री गाउँपालिकाबाहेक बाँकी सबै पालिकामा मतगणना जारी रहेको जनाएको छ । आयोगले मत परिणाम आउने क्रम जारी रहेको पनि जनाएको छ ।

मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये सोमबार धनकुटा जिल्लाको सहिद भुमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवनलगायतका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएका छन् । मतदान अवरुद्ध भएका १ गते पनि विभिन्न मतदान केन्द्रको मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्