आईफोन चार्जर महिलाको नेकलेसमा छोइएपछि डढ्यो गर्दन



काठमाडौं : अमेरिकाको मिशिगनमा एक महिलाको आईफोन चार्जर उनको नेकलेसमा छोइएपछि झिल्का निस्किएर गर्दन डढेको छ। नाम नखुलाइएकी १९ वर्षीया किशोरी ओछ्यानमा पल्टिरहेको बेलामा उनको सिरानीमुनि फोनको चार्जर थियो। चार्जर सकेटमा जोडिएको थियो तर उनको फोनमा जोडिएको थिएन। फोनमा जोड्ने भाग सिरानीमुनि थियो।

अचानक उनले गर्दनमा पोलेको जस्तो र चर्को पीडा भएको जस्तो अनुभव गरिन्। उनलाई तत्कालै अस्पताल लगियो र उनलाई सेकेन्ड डिग्री बर्न इन्जुरी भएको पत्ता लाग्यो।  उनको चार्जर चेनको नेकलेससँग जोडिएका कारण बिजुलीको झड्का लागेर डढेको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन्। 

नेकलेस उनको घाउमा च्यापिएको थियो र त्यसलाई घाउबाट निकालियो। उनलाई पेनकिलर दिएर घर पठाइएको छ। ती महिला युनिभर्सिटी अफ मिशिगनको सीएस मट चिल्ड्रेन्स हस्पिटलमा गर्दन दुख्यो भन्दै पुगेकी थिइन्।  अचानक डढेको जस्तो लागेपछि उनी आत्तिइन् र नेकलेस तानिन्। त्यसक्रममा नेकलेस भाँचिएको चिकित्सकहरूले केस रिपोर्टमा लेखेका छन्। 

एन्जियोग्राम गर्दा उनको सफ्ट टिस्यु वा रक्तनलीमा कुनै चोटपटक नलागेको पाइयो। शारीरिक जाँच गर्दा उनको गर्दनवरिपरि नै डढेको पाइयो। किशोरकिशोरीले फोन राति चार्ज गर्ने गरेको र चार्ज गरेकै अवस्थामा फोन ओछ्यानमा राख्ने गरेको र यसले गर्दा चोटपटक लाग्ने सम्भावना बढ्ने चिकित्सकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्