महिलाको खप्परबाट हटाइयो प्रेसर कूकरको सिट्ठी



काठमाडौं : भारतको मुम्बईमा एक महिलाको खप्परबाट प्रेसर कूकरको सिट्ठी निकालिएको छ । रिच कौर नामक ती महिला मंगलवार बिहानै शौचालय जान लाग्दा भान्साबाहिर रहेको एउटा भाँडोमा चिप्लिइन् । चिप्लिएपछि उनी लडिन् र उनको शिर कूकरमा बजारियो । कूकरको सिट्ठी उनको खप्परमा गाडियो र मस्तिष्कमा गएर अड्कियो । 

उनलाई तत्कालै अस्पताल लगियो । सर्जनहरूलाई उनको खप्परबाट सिट्ठी निकाल्न दुई घन्टा लाग्यो । उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ । उनी होशमा छिन् र कुराकानी गर्न सक्छिन्।

उनकी छोरी लखविन्दरले बताएअनुसार, आमाको आँखामा मोतियाविन्दु भएकाले उनले पूरै देख्दिनन् त्यसैले भाँडाकुँडा देखिनन् । ‘उहाँ लड्नुभएपछि उनको टाउको कूकरको सिट्ठीमा ठोकियो,’ लखविन्दरले मुम्बई मिररलाई बताइन्, ‘उहाँ लड्दा सिट्ठी उहाँको खप्परभित्र छिर्‍यो ।’

आमा धेरै नै छटपटाएपछि बाँच्नुहुन्न जस्तो लागेको लखविन्दरले मुम्बई मिररलाई बताइन् । कौरलाई लागेको गम्भीर चोटपटकका कारण सर्जरीका बेलामा उनी सजिलै पल्टिन पनि सकिनन् । उनलाई घाउ लागेको ठाउँमुनि हाडहरू टुक्रिएपछि संक्रमणको खतरा बढेको थियो । 

तर जटिलता भए पनि डाक्टर देवडा र उनको टोलीले खप्परबाट सिट्ठी निकाल्न सफल भयो र आन्तरिक चोटपटक पनि निको पार्‍यो । ‘बिरामी अहिले पूर्ण होशमा छिन्, बोल्न सक्छिन् र खतरामुक्त छिन्,’ डा देवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्