घोराही उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी



दाङ। सत्ता गठबन्धनलाई हराउँदै दाङको घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे। चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका थिए । उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छन् ।

उनले ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।

एमालेले १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ नम्बर वडा जितेको छ । कांग्रेसले १०, १३, १५, १६ र १९ नम्बर र माओवादी केन्द्रले ९ नम्बर वडा मात्र जितेको छ । एमालेले २०७४ भन्दा वडा बढाएको छ । पहिले ८ वडा जितेकोमा अहिले ५ वडा बढाएर १३ पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्