ज्वालामुखीभित्र लडे पति, मृत्युबाट बचाइन् पत्नीले



एजेन्सी : बिहेको केही दिनपछि अमेरिकाको इन्डियानामा बस्ने क्ले चेस्टेन आफ्नी पत्नी एकेमीका साथ हनीमूनका लागि क्यारिबीयन टापु पुगेका थिए। साउन २ गते उनीहरू लगभग ३७ सय फीट चढेर माउन्ट लियामुइगा पुगे। क्ले त्यहाँ एउटा निष्क्रिय ज्वालामुखीमा ५० फीट मुनि लडे। त्यसपछि पत्नीले हिम्मत देखाइन् र ज्वालामुखीभित्र गएर पतिलाई मृत्युको मुखबाट बचाइन्। 

एकेमीले पतिलाई निष्क्रिय ज्वालामुखीबाट बाहिर निकालेको मात्र नभई उनलाई लिएर ३.२ किलोमिटर पर रहेको बेससम्म पनि लगिन्। त्यहाँ उनीहरू फोर्ट लउडेरडेल अनि मेडिकल चार्टर्ड प्लेन बूक गरेर फ्लोरिडा गए। उपचारपछि चेस्टेन अब खतरामुक्त छन्। क्लेको शिर र शरीरमा चोटपटक लागेको छ।

चेस्टेनले घटनाका बारेमा बताए, ‘हामीहरू पहाडमा थियौं। ज्वालामुखीको क्रेटरको गहिराइमा भएको हरियालीले मलाई आकर्षित गर्‍यो। तर मलाई गहिराइबाट डर लाग्थ्यो। तैपनि मैले आफूलाई रोक्न सकिनँ र तल ओर्लदै गएँ। म चिप्लिएँ अनि पुल्टुङबाजी गर्दै चट्टानमा गएर ठोकिएँ।’

एकेमीले बताए, ‘टाउकोमा चोट लागेपछि क्ले बेस्सरी चिच्याए। त्यहाँ हामी दुई बाहेक कोही पनि थिएन। न मोबाइल लाग्थ्यो, न अन्य सुविधा थियो। अनि मैले नै क्लेलाई सहारा दिएर बेससम्म लगें । हामीहरू तीन घन्टामा बेस पुग्यौं।’ चेस्टेनको टाउको, नाक र गर्दनमा चोट लागेको छ। खप्परमा चोट लागेर निकै रगत बग्यो। तर उनी ठीक हुँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्