बाली घुम्न गएका भारतीय पर्यटकले चोरे होटलको सामान, भिडियो भयो भाइरल



एजेन्सी : होटलको कोठाबाट सामान चोर्ने भारतीय पर्यटकहरूको लज्जास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कुल २ मिनेट २० सेकेन्डको यो भिडियो इन्डोनेसियाको बालीमा लिइएको हो।

होटलका एक कर्मचारीले रिजोर्ट बाहिर भारतीय परिवारको झोला खानतलासी गरेको देखिन्छ। शुरूमा त परिवारले होटल कर्मचारीसँग झगडा गर्न खोज्छन्। तर कर्मचारीले सामानको तलाशी लिइरहन्छन्। परिवारले कोठाबाट चोरेका सबै सामान कर्मचारीले झोलाबाट निकाल्छन्। 

चोरिएका सामानमा जिउ पुछ्ने रुमाल, विद्युतीय सामान, सजावटका सामान र अन्य कुरा छन्। भिडियोमा एक महिला भन्छिन्, ‘माफी माग्छौं। यो पारिवारिक भ्रमण हो। हामीहरू सबै कुरा भुक्तान गरिदिन्छौं। हामीलाई जान दिनुस्। हामीले फ्लाइट समात्नुछ।’

भिडियोमा अन्य सुरक्षाकर्मीले पनि सामान तलाशी गरेको देखिन्छ। एक व्यक्तिले म भुक्तानी गरिदिन्छु भनेको पनि सुनिन्छ। तर कर्मचारीले पैसा लिन अस्वीकार गर्छन्। हेमन्त नामक व्यक्तिले भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्। भारतीयहरूका लागि यो लज्जास्पद घटना भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्