होटलमा सुतिरहेकी महिलाको हातमा बेरिन आयो सर्प



एजेन्सी : अमेरिकाको मेम्फिसमा रहेको ह्याम्पटन इनमा सुतिरहेकी मेलिन्डा मेजरको हातमा सर्प आएर बेरिएपछि निकै आत्तिएकी छन्। उनी दोस्रो तल्लामा रहेको कोठामा सुतिरहेकी थिइन्। उठ्दाखेरी उनले हातमा केही घस्रिरहेको अनुभव गरिन्। 

शुरूमा त उनलाई पतिको हात जस्तो लाग्यो तर उनी पति त कोठामा छैनन् भनी झल्याँस्स भइन्। सर्प देख्नेबित्तिकै उनी जुरुक्क उठिन् र हात झड्कारेर सर्प फालिन्। उनले भनिन्, ‘सर्प खाटमा पछारियो र म डेस्कमा उभिएँ अनि फ्रन्ट अफिसका मानिसलाई बोलाएँ।’

आफूलाई सर्पसँग डर लाग्ने मेलिन्डाको भनाइ छ। ह्याम्पटन इन वाल्नट ग्रोभका जनरल म्यानेजर जेसन आर्न्ड्टले एक वक्तव्य जारी गरेर बताए, ‘पाहुनाहरूको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्छ। यो घटनाका बारेमा थाहा पाएपछि होटलले तत्कालै सर्प हटायो अनि कीरा नियन्त्रण गर्ने समूहलाई बोलायो।’

त्यो बगैंचातिर पाइने हरियो सर्प भएको र कसोकसो कोठामा आइपुगेको पछि थाहा भयो। यस्तो घटना भएपनि मेलिन्डाले उक्त होटलमा फेरि बस्न आफू इच्छुक रहेको र आफू होटलको नियमित पाहुना भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्