४ हजार वर्ष अघि गाडिएको प्रेमी जोडीको अवशेष भेटियो



एजेन्सी : कजाखास्तानको एक चिहानमा ४ हजार वर्षअघिका किशोरकिशोरीहरूको भौतिक अवशेष फेला परेको छ। यो प्राचीन जोडीको मृत्यु हुँदा १६ र १७ वर्ष उमेरको बीचमा रहेको विश्वास गरिएको छ। उनीहरू कुलीन परिवारका सदस्य जस्ता देखिन्छन्। उनीहरूले एकअर्कालाई हेरेको अवस्थामा गाडिएको पाइएको छ। 

उनीहरूको मृत्यु कसरी भयो भन्ने विषयमा विज्ञहरूले अनुसन्धान गरिरहेका छन्। प्राचीन कब्रिस्तान कीजील्टाउमा उनीहरूको अवशेष भेटिएको हो। त्यो कब्रिस्तान दुर्गम कारागान्डा क्षेत्रमा रहेका पाँचवटा डाँडामा अवस्थित छ। 

चिहानमा सुन र तामाका खजानाहरू फेला परेका छन्। मृतक किशोरीले दुवै हातमा ब्रेसलेट लगाएकी छन् भने सूर्यको छवि भएको गहना घाँटीमा लगाएकी छन्। उनले सुनौलो मन्दिरको आकार भएको कानको रिङ पनि लगाएको पुरातत्त्वविद्हरूले जनाएका छन्। ‘पुरुष र महिलाले एकअर्कालाई हेरिरहेको अवस्थामा गाडिएको पाइयो,’ पुरातत्त्वविद् इगोर कुकुश्किनले बताए।

प्रतिक्रिया दिनुहोस्