हावा मात्रै खाएर ९७ दिनसम्म बाँचेको दाबी



एजेन्सी : मेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरकी बासिन्दा अउड्रा वीयरले आफू ९७ दिनसम्म हावा मात्रै खाएर बाँचेको दाबी गरेकी छिन्। अक्सिजनको भरमा मात्र यत्तिका दिन बाँचेको २५ वर्षीया उनको दाबीलाई लिएर विभिन्न प्रश्न उठाइएका छन्। कतिले यसलाई उनको हावादारी गफ ठानेका छन्।

तर, उनी आफूलाई प्रकृतिबाट ऊर्जा लिएर जिउने मान्छेका रूपमा परिभाषित गर्छिन्। ‘म प्राण ऊर्जामा विश्वास गर्छु,’ उनी भन्छिन्, ‘बाँच्नका लागि ठोस पदार्थ खानुपर्दैन। प्रकृतिबाट पर्याप्त ऊर्जा पाइन्छ।’ उनी आफू वर्षौंदेखि चिया र जुस मात्रै खाएर जीवित रहेको दाबी पनि गर्छिन्।

पोषणविद् हेलेना गिब्सन–मुरले उनको दाबीमाथि टिप्पणी गर्दै भनेकी छिन्, ‘हरेक मान्छेलाई ऊर्जा अर्थात् क्यालोरी चाहिन्छ। हावाबाट मात्रै शरीरलाई चाहिने ऊर्जा प्राप्त हुने कुरामा वैज्ञानिक प्रमाण छैन।’

तर, अउड्रा भने श्वासप्रश्वास क्रियाले भोक नलाग्ने बताउँछिन्। ‘म श्वासबाट प्राण ऊर्जा प्राप्त गर्छु,’ उनी भन्छिन्, ‘मैले ९७ दिनसम्म खानेकुरा खाइनँ। मलाई भोक लागेको महसुस हुँदैन।’ उनको ९७ दिनसम्म खानाबिना बाँचेको दाबीलाई धेरैले झुटो भनेका छन्। यत्रो लामो समयसम्म खाना नखाई बाँच्न सम्भव नभएको र उनले गफ दिएको धेरैको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्