लुम्बिनी प्रदेशको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथी र मन्त्रीहरु अनुपस्थित



बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा प्रदेशका अधिकांश मन्त्री अनुपस्थित भएका छन्।

गणतन्त्र दिवस भव्य रुपमा मनाउने गरी प्रदेश सरकारले विशेष तयारी गरेको भए पनि सरकारकै धेरैजसो मन्त्री र सांसदहरुको अनुपस्थितिले गणतन्त्र दिवसको मूल कार्यक्रम नै खल्लो भएको छ। प्रदेश सरकारले बिगत २ वर्ष कोरोना महामारीको कारण देखाउँदै गणतन्त्र दिवस मनाएको थिएन। २ वर्षपछि आयोजना गरिएको कार्यक्रममा मन्त्रीहरुका अधिकांश कुर्सी खाली थिए।

गणतन्त्र दिवसका लागि लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको थियो। उनी पनि कार्यक्रममा सहभागी भएनन्। प्रदेश प्रमुख शेरचनले आफू बिरामी परेको कारण देखाउँदै मूल समारोहमा अनुपस्थित भएका हुन्।

लुम्बिनी प्रदेश सरकारमा १७ जना मन्त्री छन्। ती मध्ये ३ जना मन्त्री मात्रै मूल समारोहमा सहभागी भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानबहादुर बिकेले जानकारी दिए।

कार्यक्रममा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु तथा प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी भएका थिए। तर, कार्यक्रममा सर्वसाधारणको सहभागिता भने उत्साहजनक रहेको थियो।

आन्तरिक मामिला मन्त्रालयले ३ दिनअघि देखि नै गणतन्त्र दिवसको लागि विशेष तयारी गरेको थियो। मन्त्रालयले सबै मन्त्रीहरुलाई निमन्त्रणा समेत पठाएको थियो। कार्यक्रममा सहभागीले मन्त्रीहरु नै कार्यक्रममा अनुपस्थित हुनुको कारणबारे जिज्ञासा राखिरहेका थिए।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँं मात्रै सहभागी रहेका थिए। कार्यक्रममा अधिकांश नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सामाजिक संघसंस्था तथा विद्यालयका शिक्षक विद्यार्थी तथा पुरस्कृत व्यक्तित्वहरु सहभागी थिए।

कार्यक्रममा सहभागी नभएपछि अधिकांश मन्त्रीहरुले मौसमको प्रतिकुलता र बिरामी भएको भनेर जवाफ दिएका छन्। मन्त्रीहरु सुरेन्द्र हमाल र ईन्द्रजित थारुले बिरामी भएका कारण सहभागी हुन नसकेको बताए। मन्त्री सुष्मा यादवले पानी परेका कारण आफू सहभागी नभएको जानकारी दिइन्।

गणतन्त्र दिवस जस्तो महत्वपूर्ण कार्यक्रममा मन्त्रीहरुलदे नै बेबास्ता गर्नु लज्जाजनक भएको कार्यक्रममा सहभागी अधिकारकर्मी लालहरी पाण्डेले बताए। कायृक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्ना अधिकारहरुलाई संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव र हर्षोल्लासपूर्वक महान चाडकै रुपमा मनाउनको लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्