आईपीएलको उपाधि गुजरातलाई  



काठमाडौं । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आईपीएलको १५औं सिजनको उपाधि हात पारेको हो।

यससँगै गुजरात आईपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो। राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए।

यसबाहेक, राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाएका थिए। राजस्थानसामू कसिलो बलिङ गरेको गुजरातका कप्तान हार्दिक पन्ड्याले तीन विकेट लिए। आईपीएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका पन्ड्याले चार ओभरमा १७ रन खर्चिएका थिए। यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए।

प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’पाए। यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’पाए। उनले १७ इनिङमा २७ विकेट लिए । आईपीएलको १५औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन्।  यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्