कैदी हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन



काठमाडौं । रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

हातहतियार मुद्दामा पाँच वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा एक वर्षका लागि जेल सजाय तोकिएका हरिजनलाई रोल्पा कारागारमा राखिएकोमा उनको गएको ४ गते मृत्यु भएको थियो । कारागार प्रशासनले हरिजनले आत्महत्या गरेको दाबी गरे पनि प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या नगरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्