चन्दले कीर्ते काम र फर्जी कागजपत्र तयार गरेको आरोप



काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग क्लब आरसी ३२ फुटबल एकेडेमीका प्रमुख रविन्द्र चन्दले आगामी अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा मताधिकार प्राप्त गर्न कीर्ते काम र फर्जी कागजपत्र तयार पारेको आरोप सहित निर्वाचन समितिमा दाबी विरोध परेको छ।

मंगलबार सुर्खेत जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका प्रमोद हमालले निर्वाचन अधिकृतलाई निवेदन बुझाएका हुन्। ६ असारमा हुने एन्फा चुनावमा चन्द केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन्। उनले पंकज नेम्बाङ समूहबाट उम्मेदवारी दिएका हुन्।

‘आर.सी ३२ का सी डिभिजन क्लवका अध्यक्ष श्री रविन्द्र चन्दले सुर्खेत जिल्ला फुटबल संघको २०७४–१–६ गते घोषित निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि अनेकौ कीर्ते काम र फर्जी कागजपत्र तयार गरी अवैधानिक कार्य गरेको प्रमाणित भएपश्चात जिल्ला संघले समेत जिल्ला अधिवेशनमा सहभागी हुन नपाउने गरी प्रतिनिधिहरुको सूचिबाट निज चन्दको नामावली हटाइ सो को प्रमाणित व्यहोरा एन्फा समेतलाई जानकारी गराइ सकेको अवस्थामा मिति २०७४–३–६ गते हुने एन्फा निर्वाचनको मतदाता नामावलीमा निजको नाम समाविष्ट भएको हुँदा सोलाई हटाई दिन हुन यो दाबी विरोध पेश गरेको व्यहोरा अवगत गराउँदै निजले गरेका कीर्ते कामहरुको फेहरिस्त एवं प्रमाणहरु यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा जानकारी गराउँदछु।’

तपसिलः

१. आर.सी ३२ फुटबल एकेडेमीबाट २०७८–१२–२४ को मितिमा एन्फा अन्तर्गतका सी डिभिजन क्लवको निर्वाचन प्रक्रियामा मतदान प्रतिनिधिका रुपमा श्री रविन्द्र चन्दको नाम सिफारिश गरिएको।

२. २०७८–१२–३० गते आर सी ३२ फुटबल एकेडेमीको बैठकबाट कोषाध्यक्ष श्री सुनिल देवकोटालाई आरसी ३२ फुटबल एकेडेमीको सम्पूर्ण कार्य गर्ने अख्तियारी दिने निर्णय गरेको उक्त निर्णय पुस्तिकामा अध्यक्ष चन्द र अर्जुन चन्दको हस्ताक्षर अघिल्ला हस्ताक्षरभन्दा फरक फरक देखिएको हुँदा सनाखत गर्नपर्ने। निज चन्दको अध्यक्षतामा बसेको बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर गरेकामध्ये श्री चन्द्रप्रकाश शाहीले पहिले नै क्लव छाडिसकेको र मधुसुदन पुन नाम गरेका व्यक्ति करिव ५ वर्षदेखि विदेशमा रहेको हुँदा दुबै जनाको नाममा किर्ते दस्तखत गरिएको।

३. २०७८–१२–३० गते आर.सी ३२ फुटबल एकेडेमीको बैठकबाट कोषाध्यक्ष श्री सुनिल देवकोटालाई आरसी ३२ फुटबल एकेडेमीको सम्पूर्ण कार्य गर्ने अख्तियारी दिने निर्णय भएपनि अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको निर्वाचन प्रयोजनका लागि तोकिएको विधि र प्रक्रिया समेत पूरा नगरी मताधिकार प्रतिनिधिका रुपमा पठाइएको। जस्तै, मताधिकार प्रतिनिधिको आधिकारिक निर्णय कार्य समितिबाट नभएको।

४. मिति २०७४–१–२ गते भएको सी डिभिजन क्लवको मताधिकार प्रतिनिधिहरुको सूचिमा कुनै दाबी विरोध नपरेको अवस्थामा एन्फाको आधिकारिक निर्णय र निर्देशन बिना आफूखुशी मताधिकार प्रतिनिधि परिवर्तन गरेको।

५. निज चन्द फेरि सुर्खेत जिल्ला फुटबल संघको २०७४–१–६ गते निर्धारित चुनावी साधारणसभामा सुर्खेतको शिरमोर क्लवको मताधिकार प्रतिनिधिका रुपमा सहभागी हुन खोजेपछि विवाद भई जिल्ला अधिवेशन स्थगित भएको।

६. आर.सी ३२ नामक क्लवको कार्य समिति बैठकमा उपस्थिति जनाएका पदाधिकारी सदस्यमध्ये हरेकजसो बैठकमा हस्ताक्षर फरक फरक भएको हुँदा सनाखत गर्नुपर्ने। ७ जनाको उपस्थितिमा ८ जनाको हस्ताक्षर रहेको।

७. आरसी ३२ क्लवको विधान अनुसार ९ जनाको कार्य समिति रहेकोमा जम्मा ४ जनाको उपस्थितिमा गणपूरक संख्या पूरा नभई बैठक बसी अध्यक्षको राजीनामा स्वीकृत गरिएको फर्जी कागजात पेश गरिएको।

प्रतिक्रिया दिनुहोस्