प्रधानाध्यापक र अध्यक्ष घुससहित पक्राउ (विवरणसहित)



महोत्तरी । श्री मावि एकडरा महोत्तरीका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा निर्माण व्यवसायीसँग घुस लिएको आरोपमा उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

श्री मावि एकडरा महाेत्तरीका प्रधानाध्यापक रामदिनेश मण्डल र श्री मावि एकडराका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विनोद पासवानलाई अख्तियारको टोलीले ५० हजार घुस लिइरहेको अवस्थामा जलेश्वर नगरपालिका २ को टाउन प्लानिङ स्थित मामाज किचेन, फेमिली रेष्टुरेन्ट एन्ड गेस्ट हाउसबाट रंगेहात पक्राउ गरेको हो । 

उनीहरूले श्री मावि एकडराको खेल मैदान स्तरउन्नति गर्न मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख रकम विनियोजन भएको र उक्त रकमबाट ७ प्रतिशत कमिसन मागेका अख्तियारले आरोप लगाएको छ । अख्तियारका अनुसार उनीहरूले आफूले मागेको ७ प्रतिशतमध्ये ५० हजार रकम लिइरहेको अवस्थामा जलेश्वर नगरपालिका २ को टाउन प्लानिङ स्थित मामाज किचेन, फेमिली रेष्टुरेन्ट एन्ड गेस्ट हाउसबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्