प्रहरीले नै काठमाडौंमा ३५ लाख लुटेपछि…



काठमाडौं । काठमाडौंको लैनचौरमा प्रहरीले सुन व्यापारीसँग ३५ लाख रुपैयाँ लुटेको खुलासा भएको छ। करिब २ साताअघि सुन व्यापारीलाई आफूसँग १ किलो सुन भएको र उक्त सुन सस्तो मूल्यमा बच्ने प्रलोभन देखाएर व्यापारीसँग ३५ लाख रुपैयाँ लुटेको खुलासा भएको छ ।

सुन व्यापारीसँग ३५ लाख रुपैयाँ लुटेर भाग्ने क्रममा छोडेको मोबाइलको आधारमा सुन व्यापारीसँग पैसा लुट्ने प्रहरी कर्मचारी भएको पुष्टि भएको हो । उक्त मोबाइल नेपाल प्रहरीको संगीत विद्यालय सामाखुसीमा कार्यरत सिपाहीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

२ साता अघि एउटा समूहले सुन व्यापारीलाई आफूसँग एक किलो सुन भएको र उक्त सुन सस्तो मूल्यमा बिक्री गर्न आफूहरू तयार रहेको बताएका थिए। उक्त लुटेरा समूह र  सुन व्यापारीबीच सुन ३५ लाख रुपैयाँ बेच्ने ‘डिल’ भयो। 

बजार भाउभन्दा निकै सस्तो मूल्यमा सुन पाउने भएपछि ती व्यापारीले सुन किन्नका लागि पैसा जुटाए। सुन बेच्ने गिरोहले दिएको लैनचौरको ब्याडमिन्टन कोर्टको लोकेशनमा झोलामा ३५ लाख रुपैयाँको बिटो बोकेर ती व्यापारी सुन पुगे । 

डिल भएअनुसार ३५ लाख रुपैयाँ लिने र सुन दिने तयारी भइरहेका बेला व्यापारीको ३५ लाख लुटेर सुन बेच्न लागेको भन्ने समूह फरार भएको थियो। नक्कली सुनको फोटोहरू लगायत देखाएर प्रलोभनमा पारेर उनीहरूले ३५ लाख रुपैयाँ लुटेर फरार भएको पाइएको छ। 

उक्त घटनालाई प्रहरीले गुपचुपमा राखेर अनुसन्धान गरिरहेको छ। यसबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। तर, घटनामा संलग्न भएकामध्ये केही व्यक्ति पक्राउ परे पनि प्रहरी कर्मचारी भने अझै फरार रहेका पाइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्