किताब र मल खोई सरकार ?



काठमाडौं । नेपालमा धान रोपाइँ सुरु भएको छ तर किसानले धानमा हाल्ने रासायनिक मल पाएका छैनन् । जेठ, असार र साउनका लागि करिब २ लाख मेट्रिक टन मल खपत हुने विगतका वर्षहरूको अनुभव छ। तर, कृषि सामग्री कम्पनीसँग अहिले १५ हजार मेट्रिक टन मात्र युरिया मल छ।

मलको कारोबार गर्ने साल्ट ट्रेडिङको गोदाम रित्तिएको ३ महिना भयो। चालू शैक्षिक सत्रको पठनपाठन सुरु भएको २ महिना बित्न लागेको छ। जनक शिक्षा सामग्री केन्द्रले कक्षा ४ देखि १० सम्मका देशभरका सामुदायिक विद्यालयका लागि १ करोड ८५ लाख थान किताब छापेर वितरण गरिसक्नुपर्ने थियो । तर, राजधानीका पुसतक पलसमा मात्र होइन, जनक शिक्षाकै केन्द्रीय डिपो सानोठिमीमा समेत यी किताब पाइँदैन। जनक शिक्षा भने १ करोड ५० लाख थान किताब छपाइ गरिसकेको दाबी गर्छ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार अहिले केन्द्रका ३ वटा छापाखानाबाट पाठ्यपुस्तक छपाइ भइरहेको छ। ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता १ लाख २५ हजार थान छ। तर, अहिलेको रफ्तारमा किताब छाप्ने हो भने असारको तेस्रो सातामा पनि छपाइ नसकिने जनक शिक्षाकै कर्मचारीहरू बताउँछन्। यस वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ भने कक्षा १ देखि ९ सम्मको किताब रङ्गीन बनाइएको छ। ती पाठ्यपुस्तक छपाइ गर्न थप समय लाग्ने जनक शिक्षाको भनाइ छ।

गत ११ जेठमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थय समितिले १ महिनाभित्र पाठ्यपुस्तक छापेर वितरण गरिसक्न निर्देशन दिए पनि जनक शिक्षाले समितिको निर्देशनअनुसार काम नै अघि बढाएको छैन। संसदीय समिति समक्ष नजक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले ३५ लाख थान पाठ्यपुस्तक छपाइ गर्न बाँकी रहेको बताएर जेठ अन्तिम या असार पहिलो साताभित्र विद्यार्थीका हातमा पुर्‍याउने बाचा गरे। तर, उनको बाचाअनुसार पुस्तक छपाइको रफ्तार नै अघि नबढेको शिक्षा मनत्रालयका एक उच्च अधिकारीको दाबी छ। ‘हामीले जनक शिक्षामा पुगेर पनि हेर्‍यौँ तर विद्यार्थीले किताब बेलैमा पाउनेगरी छापिइरहेको पाइएन । अब उसमाथि एक्सन नलिने हो भने विद्यार्थीले पहिलो त्रैमासिक जाँच दिने बेलासम्म किताब पाउँदैनन्’, उनी भन्छन्।

विद्यार्थीका हातमा किताब नभइरहेका बेला उनीहरूका अभिभावक भने मल नपाएर छट्पटाइरहेका छन्। सरकारले मल उपलब्ध गराउन नसक्दा धानलगायतका बालीमा असर गर्ने र उत्पादन घट्ने भन्दै कृषक आक्रोशित छन्। तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारतसँग गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट ल्याउने तयारी गरिरहेको मल अहिलेसम्म आइपुगेको छैन। यो सहमतिअनुसारको मल आइपुग्न मात्र असार मसान्त कुनुपर्ने कृषि मन्त्रलायका अधिकारीहरू बताउँछन्।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार जीटुजीमार्फत भारतबाट ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल असार मसान्तसम्ममा मात्र नेपाल आइपुग्छ। रासायनिक मलको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीले खरिद गर्ने ५० हजार मेट्रिक टन युरिया असारको दोस्रो साता मात्र नेपाल भित्रिने र २० हजार टन डीएपी भने असारको तेस्रो सातादेखि खरिद प्रक्रियाअनुसार ल्याइने उनको भनाइ छ।

साल्ट ट्रेडिङले खरिद गर्ने २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन युरिया ढिलोमा जेठ मसान्तसम्ममा नेपाल भित्रिने भनिए पनि नेपाल ल्याउन हुने प्रविधिक समस्याका कारण सो समयमा आइनपुग्ने मन्त्रालयकै अधिकारीहरू बताउँछन्। यसलाई आधार मान्ने हो भने यस वर्ष कृषकले धानको बाला लाग्ने बेलामा समेत मल पाउनेछैनन् ।

कोरोनाले विश्वव्यापी रूपमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय रूपमा मलको उत्पादनमा आएको कमी, मूल्य वृद्धि, रुस–युक्रेन युद्धलगायतका कारण देखाएर मन्त्रालयले आपूर्ति गर्न नसकिएको बताए पनि सरकार र संसद्का विभिन्न समितिले मल खरिद र वितरणमा गम्भीर चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्