निर्मला हत्या प्रकरण : परिवार आइतबारदेखि अनिश्चितकालीन धर्नामा



कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्न भएका हुन् ।

 

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’

 

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले बताए । महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ । ‘अब वार या पारको आन्दोलन गर्नुपर्ने अवस्था आयो,’ छलफलमा महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘हत्यारा पत्ता लगाउन स्थानीयस्तरदेखि केन्द्रसम्म दबाब दिन आवश्यक छ ।’ उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले अझै पनि प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको उनले बताइन् ।

 

निर्मला घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त गरिएका छन् । तर अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही गरेर मात्रै नहुने अधिकारकर्मीहरू बताउँछन् । ‘उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ,’ महिला अधिकारकर्मीले भने, ‘सरकारलाई यसका लागि पनि दबाब दिनुपर्ने भएको छ ।’

 

यसअघि नागरिक संघर्ष समितिले दसैं र तिहारका बीचमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको थियो । चाडपर्वका बेला सर्वसाधारणलाई अप्ठेरो हुने भन्दै आन्दोलन रोकिएको थियो । त्यसअघि धर्ना, जुलुस र प्रदर्शनलगायत विभिन्न कार्यक्रम भइसकेका छन् । ‘अब दबाबमूलक आन्दोलनको विकल्प छैन,’ नागरिक संघर्ष समितिकी सदस्य निर्मला जोशीले भनिन्, ‘निर्मलाको परिवारले सुरु गर्ने धर्नामा हाम्रो पनि साथ र सहयोग रहनेछ ।’

 

साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–२ र १८ सीमामा रहेको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव भेटिएकै दिनदेखि निर्मलाका परिवार र स्थानीय महिलाहरूले अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । चरणबद्ध रूपमा आन्दोलन चलिरहे पनि वास्तविक अपराधी अझै पत्ता लाग्न सकेको छैन ।

 

घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली गठन भइसकेका छन् । अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोसहित तीनवटा टोलीहरू अनुसन्धानमा छन् । तर ठोस प्रगति हुन सकेको छैन । साताअघि अनुसन्धानकै क्रममा डीएनए परीक्षणका लागि चार जनाको नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । तर रिपोर्ट अझै आएको छैन । – कान्तिपुर दैनिकबाट साभार ।

प्रतिक्रिया दिनुहोस्