सातै प्रदेशको बजेट ३ खर्ब ९ अर्ब ४६ करोड



काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सरकारहरूले बजेट प्रस्तुत गरेका छन्। बुधबार ७ वटै प्रदेशका अर्थमन्त्रीले प्रदेशसभाका छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारहरूले उच्च आर्थिक वृद्धिको लक्ष्य, प्रदेशलाई आत्मनिर्भर उन्मुख बनाउँदै कृषि र उत्पादनलाई जोड दिँदै आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन्। १ असारमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुरूप सबै प्रदेशले एकसाथ बजेट पेस गरेका हुन् ।सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गरेको १७ दिनपछि प्रदेश सरकारले बजेट ल्याएका छन्।

आगामी आर्थिक वर्षका निम्ति ७ वटा प्रदेशको कुल ३ खर्ब ९ अर्ब ४६ करोड ५७ लाख २८ हजार रुपैयाँको बजेट आएको छ। यसअघि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका निम्ति १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ, जसमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलब २ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलब ८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ। अधिकांश प्रदेशले चालू आवको भन्दा उल्लेख्य मात्रामा बजेट बढाएका छन्।

तर, सुदूरपश्चिम प्रदेशले ६ अर्ब र कर्णाली प्रदेशले चालू आवको भन्दा करिब ४ अर्ब रुपैयाँ कमको बजेट ल्याएको छ। त्यस्तै, बाग्मती प्रदेश र मधेस प्रदेशले चालू आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको बजेट ल्याएका छन् । गण्डकी प्रदेशले चालू आवको भन्दा ५ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको छ।

लुम्बिनी प्रदेशले चालू आवको भन्दा २ अर्ब रुपैयाँ बढी बजेट ल्याएको हो। यसैगरी प्रदेश १ ले ५ दशमलब ४१ प्रतिशत तथा कर्णाली प्रदेशले ७ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्