सुब्बा सा’बको मासिक तलब १४ लाख ४५ हजार !



काठमाडौं । मध्यरातमा अर्थ मन्त्रालय छिरेर करका दर परिवर्तन गरेको आरोप लागेका एक जना नायव सुब्बाको चर्चा नसेलाउँदै अर्का एक जना पूर्वसुब्बाले महिनामै १४ लाख ४५ हजार ९०३ रूपैयाँको सरकारी जागिर पड्काएको खुलेको छ।

अख्तियार दुरूपयोग अनुसन्धानले गरेको ‘लामो अनुसन्धान’ भन्छ-सुब्बा सा’बले ३ वर्ष ९ महिना २ दिन जागिर खाँदा महिनामा १४ लाख ४५ हजार ९०३ रुपैयाँका दरले कमाए। अख्तियारका अनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापामा सुब्बा सरहको बरिष्ठ व्यवस्थापन सहायकका रूपमा जागिर सुरु गरेका भीमकान्त भण्डारीले ३ वर्ष ९ महिना २ दिन जागिर खाँदा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ सम्पत्ति आर्जन गरे।

भण्डारीको स्थायी घर गुल्मीको मालिका गाउँपालिका– ५ हो। अख्तियारले गरेको अनुसन्धानअनुसार जागिर खाएको अवधि (२१ असोज २०७३ देखि २०७८ पुस मसान्तसम्म)मा भण्डारीको वैध आय भने २६ लाख ६१ हजार ६३६ रुपैयाँ मात्र हो। अनुसन्धानको क्रममा उनको वैध आयभन्दा बढी रकम अस्वाभाविक रूपमा कमाएको भेटिएको अख्तियारको दाबी छ। अख्तियारका अनुसार भण्डारीले ३ वर्ष ९ महिना जागिर खाँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको पाइएको छ।

‘यो रकम बराबरको बिगो र यति नै रकम (६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ) जरिमानाको माग दाबी गर्दै भण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेका छौँ’, अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने। अख्तियारका अनुसार भण्डारीले १ साउन २०७७ मा स्वेच्छिक अवकास लिएका थिए । जागिर खाएको यति छोटो अवधिमा यति धेरै रकम गैरकानुनी रूपमा आर्जन गर्ने भण्डारी सम्भवतः पहिलो व्यक्ति भएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार जागिर अवधिभर सुरु नियुक्ति लिएको झापास्थित कार्यालयबाटै मासिक २८ हजार रुपैयाँ हाराहारी तलब बुझेका भण्डारी ६ महिनाभन्दा बढी कार्यालयमा हाजिर भएका देखिँदैन। उनको अधिकांश समय सिंहदरबारभित्रका कार्यालयमा बितेको अनुसन्धानले देखाएको छ। राज्यका उच्च ओहोदाका व्यक्तिको स्वकीय सचिव भएर बिताएका उनले सेटिङ, ठेक्कापट्टा र टेन्डरमा मिलेमतो गराएर गैरकानुनी सम्पत्ति आर्जन गरेका हुन्।

महरादेखि वर्षमानसम्मको कनेक्सन 
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा जागिर भए पनि भण्डारीले माओवादी नेता वर्षमान पुन ऊर्जा र अर्थमन्त्री बन्दा स्वकीय सचिवका रूपमा काम गरेका थिए।

भण्डारीले माओवादीका अर्का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको स्वकीय सचिवालयमा बसेरसमेत काम गरेका थिए।

जागिर छाडेपछि व्यापारमा
जागिरबाट स्वेच्छिक अवकास लिएका भण्डारीले अवकासअघि नै स्वास्थ्य परीक्षण गर्ने ल्याब सञ्चालनका लागि अनुमति लिएका थिए। अख्तियारका अनुसार १६ फागुन २०७६ मै १० लाख रुपैयाँ लगानी गरेर बिध म्यानेज्मेन्ट प्रा.लि. दर्ता गरेका भण्डारीले सो कम्पनीमा ३ पटक लगानी गरेका छन् ।

उनको नाममा बिध अटो मोबाइल प्रा.लि., सेवा रेमिट, माडी खनिज सप्लायर्स र बीएन डेभ्लपर्स गरी ५ वटा कम्पनी व्यक्तिगत स्वामित्वमा छन्। यी कम्पनीमा गरी भण्डारीले २ करोड ९५ लाख २५ हजार रुपैयाँ शेयर लगानी गरेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको विवरणमा देखिन्छ। यो विवरण भने ८ चैत २०७८ सम्मको मात्र हो । यसरी हेर्दा भण्डारीले १६ चैत २०७६ देखि १४ पुस २०७८ को बीचमा मात्र ५ वटा कम्पनीमा गरेर २ करोड ९५ लाख २५ हजार रुपैयाँ शेयर लगानी गरेका देखिन्छ।

भण्डारीले बिध म्यानेज्मेन्ट प्रा.लि.को मातहतमा रहनेगरी कुपण्डोलको ज्वागलमा बिध ल्याब सञ्चालन गरेका छन्। ल्याबले कोरोनाका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि अधिकांश पत्रकारसम्मको निःशुल्क कोरोना परीक्षण गरेको थियो। २२ वैशाख २०७७ मा विध ल्याब सञ्चालको अनुमति माग्दै राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा भण्डारीले निवेदन दिएकामा प्रयोगशालाले २०७८ असार मसान्तसम्मका लागि मात्र सञ्चालनको अनुमति दिएको थियो।

अनुमति मागेको ३ दिनपछि नै प्रयोगशालाको टोलीले स्थलगत अवलोकन गरी मापदण्ड पुगेको भन्दै ल्याब सञ्चालनको अनुमति दिन सिफारिस गरेपछि प्रयोगशालाकी तत्कालीन निर्देशक रुना झाले ५ चैत २०७७ मा २०८७ असार मसान्तसम्मका लागि सञ्चालन अनुमति दिएकी थिइन् । स्वास्थ्य व्यवस्थापन तथा सञ्चालन मापदण्ड निर्देशिका, २०७३ लाई टेकेर सञ्चालन अनुमति दिएको सो ल्याबको अनुमति अवधि सकिएको छ। तर, हाल पनि सो ल्याबले कोरोना, डाइबिजिटलगायतका रोगको रगतलगायतको नमुना सङ्कलन गरी ल्याबमार्फत परीक्षण गर्दै आएको छ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले भण्डारीको स्वामित्वमा रहेको बिध म्यानेज्मेन्ट प्रा.लि.लाई १९ वैशाख २०७७ मा ५ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको आरडीटी किट खरिदको जिम्मा दिएको थियो। सो किट खरिदका लागि भण्डारीको कम्पनीले ३० जेठ २०७७ मा दोस्रो पटक विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप ९ करोड ४५ लाख रुपैयाँको आरडीटी किट खरिद गर्ने ठेक्का पाएको थियो। त्यसलगत्तै ३ असारमा बिधले ७ करोड ७५ लाख ३६ हजार ५६० रुपैयाँ बराबरको किट किन्ने ठेक्का पाएको थियो।

प्रतिक्रिया दिनुहोस्