युक्रेनले रुसी संगीतलाई प्रतिबन्ध लगाउने



एजेन्सी । युक्रेनको संसदले रुसी संगीतलाई सार्वजनिक थलो र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने प्रस्तावको पक्षमा मतदान गरेको छ । बीबीसीका अनुसार यो रोक सबै रुसी संगीतमा लागू हुनेछैन, बरु सन् १९९१ पछि रुसी नागरिक भएकाद्वारा सिर्जना गरिएको संगीतसँग सम्बन्धित छ ।

तर रुसी आक्रमणको विरोध गर्ने कलाकारले चाहिं प्रतिबन्ध छुटको लागि आवेदन दिन सक्ने भएका छन् । संसदबाट पारित भएको उक्त कानुनअनुसार रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि प्रतिबन्ध लगाइने भएको छ । पूर्वी र दक्षिण युक्रेनमा बसोबास गर्ने युक्रेनीले ऐतिहासिक रुपमै रुससँग बलियो सम्बन्ध महसुस गरेका छन् र उनीहरुको पहिलो भाषा पनि रुसी नै हो।

आइतबार सांसदहरुले पारित गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, सिनेमा घर र अन्य सार्वजनिक स्थानमा रुसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।

युक्रेनको संसदका ४५० सांसदमध्ये यो प्रस्तावको पक्षमा ३०३ जनाले मतदान गरेका थिए । ‘युक्रेनमा संगीतको माध्यमबाट सम्भावित शत्रुतापूर्ण प्रचारको जोखिमलाई कम गर्ने र राष्ट्रिय संगीतको उत्पादनलाई बढाउनेछ,’ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्