कति चमकदार बन्ला रविको राजनीतिक ‘रवि’ ?



काठमाडौं । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको बहस जारी रहँदा ‘स्वतन्त्र राजनीतिक अभियान’ लोकप्रिय हुँदै गएको पृष्ठभूमिमाझ पूर्वसञ्चारकर्मी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीसहित जनतामा आएका छन् । राजनीतिक व्यवस्था नभई जनताको अवस्था बदल्न राजनीतिमा आएको रविले बताए ।

३० वैशाखमा भएको स्थानीय निर्वाचनमार्फत जनघनत्व बढी भएका काठमाडौं, धरानलगायत ठूला केही शहरसम्मै मतदाताले दलहरूका आधिकारिक उम्मेदवारको विकल्पमा स्वतन्त्र उम्मेदवारलाई जिताएका थिए ।

निर्वाचनमार्फत यी शहरहरूमा व्यक्त मतदाताको अभिमत दशकौँदेखि सत्तामा घरिघरि पुग्दै आएका दलका उम्मेदवारहरूको विकल्पमा रहेको विश्लेषणका आधारमा रवि नेपाली राजनीतिमा दलसहित आएका हुन् । वैकल्पिक राजनीतिक शक्तिको ‘स्पेस’ लिने उनको चाहना प्रष्ट छ । हुनत भिन्नभिन्न राजनीतिक एजेन्डासहित स्थापित दलहरूले पनि वैकल्पिक राजनीतिक शक्ति हुने यसअघि उद्घोष नगरेका होइनन् ।

तीमध्येमै पर्ने एउटा दल हो- विवेकशील साझा पार्टी । सुशासन कायमदेखि भ्रष्टाचारविरुद्धका जनरुचि जोडिएका एजेन्डा उठान गरेर राजनीतिमा आएको उक्त दल अन्ततः राजावादी र हिन्दुवादी दलको रूपमा देखापरेपछि हाल अस्तित्व सङ्कटमा छ । वैकल्पिक राजनीतिक शक्ति हुने दाबी गरेका अन्य दलहरू पनि मजबुत स्थितिमा छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लगायत सत्ताको स्वाद चाख्दै आएका दलहरूको नेतृत्वमा राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएको भने विकल्पको पक्षधरहरूले स्वीकार गर्दै आएका छन् । तर, जनताको अवस्था जस्ताको तस्तै भएको उनीहरूको ठहर छ ।

त्यसैमध्येका एक हुन्, रवि । उनले मंगलबार राष्ट्रिय सभागृह काठमाडौंमा आयोजित पार्टी घोषणासभामा जनताको अवस्था बदल्ने मूल मन्त्र पार्टीको रहेको उल्लेख गरे । राजनीतिक विश्लेषक प्रा. लोकराज बराल सत्तामा पटकपटक पुगेका दलहरूबाट जनजीविकाको सवाललाई सम्बोधन गर्न नसक्दा विकल्पको रूपमा रवि जस्ता युवा देखिनुलाई सकारात्मक मान्छन् । स्थानीय निर्वाचनले उनलाई हौसला मिलेको हुन सक्ने बराललाई लागेको छ ।

उनका अनुसार अहिले स्वतन्त्र अभियानको ‘वेभ’ पनि आएको छ । तर, वैकल्पिक राजनीतिक धार समात्छु भन्नेहरू अडानमा टिक्न नसक्दा रविमाथि उनको शङ्का छ । ‘स्थानीय निर्वाचनले स्वतन्त्र अभियानको एउटा ‘वेभ’ ल्यायो । फेरि, स्थापित दलहरू सत्तामा रहँदा ‘डेलिभर’ गर्न सकेनन्’, उनले द नेपालटपसँग भने, ‘यस्तो बेला रविलगायत राजनीतिमा देखिनु ठीक हो तर कति टिक्छन् ?’

स्वतन्त्र अभियानमा युवा पुस्ता बढी जोडिएका छन् । आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा स्वतन्त्रै रहेर निर्वाचन लड्ने घोषणा पनि धमाधम भइरहेको छ । यद्यपि, उनै स्वतन्त्रहरूलाई पार्टीको छाता ओढाइदिन पार्टी स्थापना गरेको रविको भनाइ छ । स्थापित राजनीतिक दलहरूको भन्दा केही ‘नयाँ प्रयोग’ पनि उनको दलले गर्ने रविले बताएका छन् । उनका अनुसार आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा उम्मेदवार दलको तर्फबाट हुँदा दलकै सदस्यहरूले चुन्नेछन् । उनले यसलाई ‘प्रारम्भिक निर्वाचन’ भनेका छन् ।

यसको अभ्यास अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँका राजनीतिक दलहरू डेमोक्रेटिक, रिपब्लिकनलगायतले गर्दै आएका छन् । केही वर्ष अमेरिका बसेका रविले त्यसकै अनुशरण गर्न लागेको देखिन्छ । उनले दलमा अर्को प्रयोग गर्ने बताए । त्यो हो– दलको भ्रातृ सङ्गठन र कार्यकर्ता हुँदैन । ५० प्रतिशत बढी युवाको प्रतिनिधित्व पार्टीमा रहने र पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचनमा प्रत्यक्ष प्रणाली अङ्गीकार गर्ने जनाएको छ । परिवारवादलाई पनि पार्टीमा स्थान नदिइने रविको सङ्कल्प छ ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले शान्तिपूर्ण राजनीतिक प्रक्रियामा जनताका एजेन्डा लिएर सामाजिक छवि राम्रा बनाएका युवाहरू आउनु नराम्रो नभएको प्रतिक्रिया दिए । तर, लहडमा राजनीति नहुने उनले बताए । ‘समयले कहिलेकाहीँ हुत्याएर केही पात्रलाई राजनीतिमा ल्याउँछ । कतिबेलाचाहिँ लहडले पनि ल्याउँछ र चाँडै सकिन्छन् पनि । तर, रविजी त्यस्तो नहोऊन् । शुभकामना । राम्रा मान्छेहरू आउनुपर्छ’, सचिव विश्वकर्माले भने ।

सत्तामा पटकपटक पुगेका दलहरू कांग्रेससहित एमाले, माओवादीलगायतले भ्रष्टाचार नियन्त्रण गर्न सकेका छैनन् । उल्टै सरकारमा पुग्दा ठूलाठूला भ्रष्टाचारका घटनामा यिनै दलका मन्त्रीहरू मुछिए । कति अझै कागारारमा छन् । कतिले उन्मुक्ति पाए । सुशासन कायम पनि छैन । आसेपासेहरूले राज्यकोषबाट अकूत कमाएका छन् । नातावाद र कृपावादमा दलहरू रुमलिएको जनताको गुनासो छ । यस्तो अवस्थामा स्वतन्त्र अभियान प्रभावकारी देखिँदै गएको हो ।

सत्ता नेतृत्व दल नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर पनि राजनीतिमा सुधारका लागि युवाहरू दलसहित देखापर्नु प्रशंसनीय ठान्छन् । तर, नयाँ दल नयाँ अभियानसहित देखापर्दा कांग्रेससहितका पुराना दलहरूलाई चुनौती नहुने बताए । ‘राजनीति सबैभन्दा ठूलो समाजसेवा भनेर आएका हौँ हामी । त्यसका लागि हामीले ठूलाठूला राजनीतिक क्रान्ति गरेका छौँ । अब जनताको अवस्था बदल्न बाँकी छ । यस्तो बेला नयाँ अभियानसहित युवाहरू राजनीतिमा आउनु ठीक छ । तर, यस्ता दलको हामीलाई चुनौती रहँदैन’, सहमहामन्त्री राठौरले भने ।

रविको दल भने निर्वाचन आयोगमा दर्ता हुन बाँकी छ । निर्वाचन चिह्न घन्टी राखिएको छ । दल घोषणाअघि उनी पाशुपत क्षेत्र गएका थिए, जुन हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यसलाई लिएर उनी पनि हिन्दुवादी आन्दोलनमा जोडिन सक्ने कतिपयले विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्