स्थानीय तहले खुलेर निर्णय लिन नसक्नुमा संघीय र प्रदेश सरकार दाेषी : मेयर साह



जनकपुरधाम: क्रियाशील पत्रकार महिलाको आयोजनामा आइतबार जनकपुर उपमहागरपालिकाको सभाकक्षमा स्थानीय तहमा सुशाशन र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुर उपमहानगरका मेयर लालकिशोर साहले भने, ‘७५३ स्थानीत तहको सरकारको संरचना भएको सरकारले अब गर्ने काम धेरै भए पनि मुख्य भनेको नै सुशाशन हो ।’

 

मेयर साहले चाँडै धनुषाका सबै स्थानीय सरकार एकै ठाउँमा बसेर सुशाशनसम्बन्धी बहस गर्नुपर्ने बताउँदै भने, ‘प्रदेश र संघीय सरकारको कानुन बन्दै छ, अब हामीले धेरै काम गर्नुपर्छ ।’ 

कसैको दबाबमा नरही काम गर्नुपर्नेमा उनले जोड दिए ।

 

अझै पनि स्थानीय तहले खुलेर निर्णय लिन नसक्नुमा संघीय र प्रदेश सरकार मुख्य दोषी रहेको आरोप लगाए । साहले कर्मचारीतन्त्रको असहयोगले स्थानीय तहमा काम गर्न समस्या आएको आरोप लगाए । फरक प्रसंगमा बोल्दै उनले नगरमा छुट्टै महिला शौचालय बन्न नसकेको प्रति दुःख व्यक्त गरे । साथै उनले सरकारको असहयोगले समस्या झेल्दै आउनुपरेको बताए । 

मेयर साहले स्थानीय तहमा दैनिक कार्यसञ्चालनमा आइपर्ने समस्या पनि उक्त अन्तरक्रियामा प्रस्तुत गरेका थिए । उनले भने, ‘हामीसँग जनताका थुप्रै अपेक्षा हुँदाहुँद पनि समयमा काम गर्न सकेका छैनौं ।’ उनले अहिलेको अवस्थालाई ट्रान्जिसनल फेजको नाम दिए । मेयर साहले न्यायिकलगायत विभिन्न पाँच वटा समिति छिट्टै बन्ने जानकारी दिए । उपमहानगरजस्तो ठाउँमा पनि प्रमुख कार्यकारी नहुँदा अफ्ठेरो परेको भन्दै उनले अनुभवका आधारमा काम गर्दै आएको बताए । 

 

कार्यक्रममा वक्ता नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मिश्रले यो भनेको स्थानीय तह सुशासनको पक्षमा कलम चलाउने बेला भएको बताए । मिश्रले भने, ‘यदि हामीले स्थानीय तह र सुशाशनका विषयमा इमानदारी भएर कलम चलाउने हो भन्ने जनप्रतिनिधिहरुलाई कार्य गर्न सहज हुन्छ ।’ उनले अझै पनि थुप्रै ठाउँमा न्यायिक समिति गठन हुन नसकेकोप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । जनताले सुशाशनको अनुभूति नगरेसम्म स्थानीय तह सफल नहुने उनको तर्क थियो । 

 

मेयर लालकिशोर साहलाई आग्रह गर्दै अध्यक्ष मिश्रले जनकपुरमा पछि परेका र अभावग्रस्त नगरका वडामा गएर जनतासँग संवाद गर्न आग्रह गरे । क्रियाशील पत्रकार महिला संघकी अध्यक्ष रिंकु मिश्र (गायत्री) को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ कमिटी महासचिव किरण कर्णले अहिले देशमा तीन ओटै सरकार रहेको र त्यसमा स्थानीय सरकार सबैभन्दा बलियो भएको बेला काम जसरी पनि हुनुपर्ने बताए ।

 

सामुदायिक रेडियो प्रसारण संघ प्रदेश २ का संयोजक अशोक दत्तले तीन ओटा सरकार भएका बेला आपसमा जति सहकार्य हुनुपर्ने त्यो न भएको वास्तविकता बताए । दत्तले सुशाशनका लागि तीनै सरकारबीच सहकार्यको आवश्यकता औंल्याए । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हिमांशु चौधरीले कागजको पन्नामा मात्र सुशाशनको कुरा सीमित भएको भन्दै स्थानीय तहमा अझै जनताले चाहेअनुसारका सुशाशन कायम हुन नसकेको गुनासो गरे । उनले अहिलेको मुख्य चुनौती भनेको सुशाशनको दिशामा जिम्मेवारी लिएका व्यक्ति अझै जिम्मेवार हुनुपर्ने रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्