क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो



अमेरिका : अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

 

 

उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।

 

“आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,” बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए । 

 

आगोका कारण उत्पन्न धुवाँले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ । 

 

 

आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ । बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो । 

 

 

आगलागीका कारण अस्पताल, ग्यास स्टेसन, रेष्टुरेन्टलगायत गरी छ हजार ७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन् । 

 

 

आगलागी भएको जङ्गलमा लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जङ्गलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ । 

 

 

उद्धारका लागि केही व्यक्तिलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन ।  उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् । 

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्