काठमाडौंका सार्वजनिक स्थानमा भिख माग्न निषेध



काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो।

यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सूचनामा लेखिए अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन ।

साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन पाइने छैन । महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने पनि जनाएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा महानगरपालिकामा सम्पर्क गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्