काठमाडौंमा पनि छठको रौनक, खोला तथा नदी किनारमा भव्य तयारी



काठमाडौं : सूर्यको पूजा आराधना गरी मनाइने आस्थाको पर्व छठ आजदेखि विधिवत् रुपमा सुरु भएको छ । तराईका जिल्लामा रहेका नदी तथा ताल सफा गरेर चिटिक्क पार्ने काम जारी रहँदा काठमाडौंमा पनि छठको रौनक देखिएको छ ।  

उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावट सहित तयारीका काम शुरु भएको हो ।

वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी भइरहेको छ । नदी किनारको थापाथली, नारायणटार र गोकर्ण क्षेत्रमा तयारी भइरहेको छ ।

यसैगरी कमलपोखरीमा पनि छठको तयारी शुरु भएको छ । दुई दशक अघिदेखि राजधानीमा छठको रौनक बढ्न थालेको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा उपासना गरी मनाइने छठ पर्वआजदेखि शुरु भएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु,लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौं उपत्यका लगायत पहाडमा मनाउन थालिएको हो ।

विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्वसाथ यो पर्व मनाउने गरिएपनि २०७२ को भूकम्पपछि रानीपोखरीमा छठ मनाउन पाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्