विश्वकै महँगो घोडा जसकाे मूल्य डेढ अर्ब



एजेन्सी : आज हामी तपाईंलाई विश्वकै सबैभन्दा महँगो जनावरको बारेमा बताउँदै छौँ, जसको मूल्यको अनुमान सायद तपाईं गर्न सक्नुहुन्न। यो बहुमूल्य घोडाको मूल्यमा तपाईं आलिशान बंगला, कार मात्र होइन, जीवनभरलाई पुग्ने अन्य कैयन् महँगा चिज किन्न सक्नुहुन्छ।

यो घोडाको नाम ग्रिनमंकी हो। यो अमेरिकी जातको दौडने घोडा अर्थात् रेस हर्स हो। यो घोडाको मूल्य करिब १ अर्ब ६० करोड नेपाली रुपैयाँ अर्थात् १ करोड ६० लाख डलर तोकिएको थियो। सन् २००६ मा भएको एउटा लिलामीका क्रममा यो घोडा यतिधेरै मूल्यमा बिक्री भएको थियो।

तीव्र गतिमा दौडिने क्षमता तथा सुन्दरता यसको खास विशेषता थियो। यही कारण यो घोडा विश्वमा अहिलेसम्मकै सबैभन्दा महँगो जनावरको रुपमा रहेको छ। अर्थात् यसको मूल्यलाई अरू कुनै पनि जनावरले अहिलेसम्म जित्न सकेका छैनन्।

पहिलोपटक दौड प्रतियोगितामा भाग लिने क्रममा यो घोडाले २ सय मिटर दूरी जम्मा ९.८ सेकेण्डमा पूरा गरेको थियो। तर, एकपटक गम्भीर रुपमा घाइते भएसँगै यो घोडा त्यसपछि कहिल्यै पनि त्यतिधेरै गतिमा दौडिन सकेन। सन् २००४ मा जन्मिएको यो घोडाको २०१८ को जुलाई महिनामा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्