यस्तो देश, जहाँ कसैले मासु काट्न चाहँदैन



एजेन्सी : जर्मनीमा निकै प्रयोग हुने परिकार मध्ये ससेजको स्थान अग्रस्थानमा आउँछ। तर ब्राटउस्र्ट भनिने विशेष खालको ससेज बनाउने परम्परागत कला चाहीँ छिट्टै नै एकादेशको कथा बन्ने खतरा बढेको छ।

जर्मनीमा पछिल्लो समयमा मासु पसल तथा पशु बधशालाहरु बन्द भैरहेका छन्। पछिल्लो दुई दशकमा जर्मनीमा मासुका पसलहरुको संख्या आधाले घटेको छ। जर्मन बुचर्स एसोसिएसनका अनुसार सन् १९९८ मा जर्मनीमा २१ हजार १६० वटा मासुका पसल थिए। सन् २०१८ मा आइपुग्दा त्यो संख्या १२ हजार भन्दा पनि कम भएको छ।

बर्लिनमा बस्ने ३७ लाख मानिसका लागि केवल १ सय ८ वटामात्रै मासु पसल छन्। जबकी केन्द्रीय प्रान्त थुरिंगियामा चाहीँ साढे २१ लाख जनसंख्याका लागि ४ सय जति मासु पसल छन्। त्यस्तै दक्षिणी प्रान्त बाभारियामा एक करोड ३० लाख जनसंख्याका लागि केवल ३३ सय मात्र मासु पसल रहेका छन्।

बिक्री बढ्यो, रुचि घट्यो

पशु बधशाला वा मासु पसलहरु बन्द हुनुसँग मुनाफाको कुनै सम्बन्ध छैन। बुचर्स एसोसिएसनका अनुसार जर्मनहरु अहिलेपनि परम्परागत रुपमा बनाइएको मासुका उत्पादनहरु निकै रुचीपूर्वक खरीद गर्दछन्।

पछिल्लो दुई दशकमा मासुका पसलहरुको औषत वार्षिक आयमा ६० प्रतिश भन्दा धेरैले वृद्धि भएको छ र सन् २०१८ मा यो आँकडा १४ लाख युरो नाघेको छ। आखिर माग यसरी उच्च हुँदापनि जर्मनीमा पशु बधशाला तथा मासु पसलहरु किन बन्द भैरहेका छन् त ?

बर्लिनका पूराना मासु व्यापारी जर्ग लिटगासँग यसको सिधा जवाफ छ। उनका अनुसार युवा पुस्तामा यो पेशाले आकर्षण पैदा गर्न सकेको छैन। यो मेहेनतको काम हो र अब यो काम कसैले गर्न चाहँदैन।

सन् १९९५ देखि लिटगाले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनको परिवारले पाँच पुस्ताअघि देखि मासुकै उत्पादन तथा व्यापार गर्दै आएको छ। उनी बिहानै साढे ४ बजे उठ्दछन्। पसलको पछाडि उनको मासु उत्पादन स्थल छ, जहाँ उनी हरेक दिन १४ घण्टा बिताउँछन्।

त्यहाँ ससेज बनाउने पारिवारिक मसालाबाट मासुको उत्पादन तयार गरिन्छ। उनी भन्छन्, ‘हामी आफैले मसालाको मिश्रण तयार गर्दछौँ। केही अन्य पसलहरुले बनिबनाउ मसलाको पनि प्रयोग गर्ने गरेका छन्। तर हामीकहाँ त्यस्तो चिज पाइँदैन।’

एउटा शान्त गल्लीमा रहेको उनको पसल अगाडि उनको मेहेनत झल्किरहन्छ। गोमांशका मिलाएर काटिएका टुक्राहरु अनि सुगुरको मासुबाट तयार गरिएका र खुर्सानीको धुलोका कारण रातो बनेका ससेज।

उनको हजुरबा भन्दापनि अगाडिको पुस्तादेखि नै परिवारको खान्दानी पेशा यहीँ नै रह्यो। तर अब उनको परिवारमा उनीपछि यो काम गर्न कोहीपनि चाहँदैन। परिवारमा मात्र होइन नातेदारहरु पनि यो मासुको काममा लाग्न चाहँदैनन्।

त्यसैले आफुले काम गर्न छाडेसँगै परिवारको परम्परा नासिने चिन्ता उनलाई छ। यो परिवर्तन जर्मनीको राजधानी बर्लिनमा मात्र सिमित छैन। जर्मनीमा हाल दुई तिहाइ मासु पसलेहरु ५० वर्षभन्दा माथिको उमेरका छन् र उनीहरुको कामको बिँडो थाम्ने नयाँ पुस्ता छैन।

तीन वर्षसम्म सञ्चालन हुने मासु उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुनेहरुको संख्या निके घटेको छ। उक्त प्रशिक्षणमा प्राविधि शिक्षाका साथै व्यवहारिक प्रशिक्षण पनि दिइन्छ।

बुचर्स एसोसिएसनका अनुसार जर्मनीमा सन् १९९९ मा १० हजार भन्दा धेरै प्रशिक्षार्थीले यस्तो तालिम लिन्थे। तर सन् २०१७ मा आउँदा यो संख्या घटेर ३ हजारमा झरेको छ।

मासुको पसलमा सेल्सम्यान बन्नका लागि पनि तिन वर्षको तालीम आवश्यक हुन्छ । उक्त तालीम लिने मानिसको संख्यामा पनि कमी आएको छ ।

सन् १९९९ मा झण्डै १४ हजार यस्ता प्रशिक्षार्थी सेल्सम्यान थिए भने सन् २०१७ मा घटेर ३ हजार ७ सयमा झर्यो ।

अहिले पशुपालन फार्म देखि पशु बधशाला र मासु पसलमा चाहिने जनशक्तिको समेत अभाव भएको व्यवसायी बताउँछन् । यसबाट राजधानी बर्लिन सबैभन्दा प्रभावित भएको छ ।

सन् २०१४ मा जर्मन बुचसै गिल्डले सहरमा रहेको एकमात्र प्राविधिक बुचरी कलेजमा पढाउने काम बन्द गर्ने घोषणा गरेको थियो । किनकी २४ वर्षअघि वार्षिक १२ सय ५० जना विद्यार्थी रहेको उक्त विषयमा सन् २०१८ मा जम्मा १ सय ४५ जनामात्रै विद्यार्थी थिए ।

यो पेशामा नयाँ युवा आकर्षित गर्नका लागि तलब सुविधामा वृद्धि एउटा मुख्य उपायको रुपमा रहेको शोधकर्ताहरुको भनाई छ ।

बर्लिनमा यस्ता प्रशिक्षार्थी कामदारले महिनामा ७ सय युरोसम्म कमाउन सक्दछन् । जबकी अन्य पेशामा तलब सुविधा यो भन्दा निकै राम्रो छ ।

तर मासु पसलेका परम्परागत ज्ञान तथा व्यवसायलाई बचाउनका लागि केवल नगद मात्र काफी छैन । एज्ेन्सीको सहयोगमा

खाद्य अभियानकर्मी तथा बर्लिनको मासु पसल कम्पेल एण्ड क्यू का सस्थापक हेन्ड्रिक हासेका अनुसार यो क्षेत्रप्रति मानिसहरुको धारणामा परिवर्तन ल्याउनु आवश्यक छ।

‘अहिले मानिसहरु धेरै जान्ने भएका छन् । खानेकुराहरुको बारेमा पनि कैयन् प्रश्न गर्दछन् । के मासु खानु ठीक हो ? यसको जलवायुमा कस्तो असर हुन्छ ? जनावर कहाँबाट ल्याइन्छ ?’

यी विषयमा सार्थक बहसमा सामेल भएमा मांशाहार छाडिरहेको समाजमा यो परम्परालाई जिवित राख्नमा सहयोग पुग्नेछ । बीबीसी

प्रतिक्रिया दिनुहोस्