वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ : श्रममन्त्री कुँवर (अन्तर्वार्ता)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट वर्तमान सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्, शेरबहादुर कुँवरले।

नेपालको श्रम बजार, श्रम शक्तिका समस्या, वैदेशिक रोजगारीका समस्या र पीडा अनि तिनको समाधानका उपायहरूमा केन्द्रित रहेर द नेपालटपकर्मी कौशिला कुँवरले मन्त्री शेरबहादुर कुँवरसँग गरेको कुराकानी ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मेवारी पाउनुभएको छ । के छन् तपाईंका नयाँ योजना ?

मैले जिम्मेवारी पाएको मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकायले गर्ने काम वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थापन गर्ने नै हो। स्वदेशमा रोजगारीको अवसर नहुँदा युवाहरू बाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको छ। अर्काको देशमा गएर काम गर्न सहज भने पक्कै छैन।

वैदेशिक रोजगारीमा जानेहरूले अनेक पीडा भोग्नुपरेको छ। वैदेशिक रोजगारीमा जाने क्रममा म्यानपावर कम्पनीबाट ठगिएका छन्। ऋण लिएर ठूला सपना बोकेर वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिका शरीरका अङ्गभङ्ग भएका छन्। ठूला सपनाहरू बोकेर विदेशिएका व्यक्तिहरू फर्किंदा बन्द बाकसमा मृत शरीर आउँदा उनीहरूका परिवारको पीडा उस्तै छन्।

यस्ता अनेक समस्या हुँदा पनि स्वदेशी युवाहरूलाई वैदेशिक रोजगारमा जान दिनु हाम्रो बाध्यता पनि छ । देशको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ। तर, वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन काम गर्नुपर्छ। वैदेशिक रोजगारमा जाँदा हुने समस्यालाई समाधान सहज सुरक्षित कसरी बनाउने मेरो ध्यान बढी केन्द्रित छ।

मैले वैदेशिक रोजगारीमा जाने युवाहरूको बाध्यता र देशको बाध्यता दुवै राम्रोसँग बुझेको छु। यस क्षेत्रमा आमूल परिवर्तन ल्याउन मसँग समय छैन । काम गर्नका लागि छोटो समय छ । तपाईं हामी सबैलाई थाहा नै छ, मैले चाहेर पनि काम गर्न सक्ने अवस्था छैन। मलाई नीतिगत परिवर्तन गरी यस क्षेत्रलाई सुरक्षित व्यवस्थापन गर्ने धेरै समय छैन । तर पनि मसँग जति समय छ त्यसलाई खेर नफाली आफ्नो तर्फबाट वैदेशिक रोजगारीमा जाने युवाहरूलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने विषयमा सक्दो प्रयास गर्नेछु।

हाम्रो देशले जुन देशसँग श्रम सम्झौता गरेको छ र हाम्रा युवाहरू जुन देशमा रोजगारीका लागि विदेशिएका छन्, उनीहरूको संरक्षण र सुरक्षाका लागि सम्बन्धित निकायसँग कुरा गर्नेछु। मेरो मुख्य प्राथमिकता स्वदेश तथा विदेशमा काम गर्दै आएका श्रमिकहरूका समस्यालाई अध्ययन गरी उनीहरूको पेसालाई सुरक्षित बनाउने हुनेछ। स्वदेशमै युवाहरूलाई रोजगारीका अवसरहरू बढाउनेतर्फ केन्द्रित रहनेछ ।

मन्त्रीज्यूले श्रमिकहरूको संरक्षण र सुरक्षाका लागि के सोच्चुभएको छ त ? आमूल परिवर्तन गर्ने समय नभए पनि छोटो समयमा केही राम्रा काम गर्ने योजना त होलान् नि ?

श्रमिकहरूको भविष्यका लागि मेरो पहिलो प्राथमिकता सबै क्षेत्रका रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रयास हुनेछ । यो कार्यक्रम ३ वर्षअघिदेखि नै कार्यान्वयनमा आएको भए पनि धेरै रोजगारदाता सामाजिक सुरक्षा कोषमा आउन चाहेका छैनन् । विशेषगरी सञ्चार माध्यम र कला क्षेत्र सामाजिक सुरक्षा कोषमा सहभागी भएका छैनन् ।

सञ्चार माध्यममा काम गर्ने पत्रकार र कला क्षेत्रमा काम गर्ने श्रमिकको पेसागत सुरक्षाका लागि जति सक्दो छिटो सामाजिक सुरक्षा कोषमा सहभागी गराउने पहल हुनेछ । धेरैले सामाजिक सुरक्षा कोष र योगदानमा आधारित कोषलाई गतल बुझ्नुभएको छ । तर, यो कार्यक्रम उहाँहरूकै सुरक्षा र संरक्षणका लागि हो ।

कार्यक्रमका बारेमा नबुझेरै धेरैले यसमा सहभागी हुन चाहेका छैनन् । सामाजिक सुरक्षा कोषमा सहभागी हुन प्रेरित गर्न रोजगारदाताहरू, सरोकारवाला व्यक्तिहरूसँग छलफल गरी उहाँहरूलाई यस क्षेत्रमा सहभागी गराउने काम हुनेछ ।

यसैगरी वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको सिप र उनीहरूले विदेशबाट आर्जन गरेको सम्पत्तिलाई सुरक्षित गर्न केही कार्यक्रम अघि बढाएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विदेशबाट फर्केका युवाहरूको सिप र लगानीलाई सुरक्षित सदुपयोग गर्ने उद्देश्यले एउटा कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेस गरेको छु ।

यस कार्यविधिले वैदेशिक रोजगारबाट फर्केर आएका युवाहरूको सिप र लगानी दुवै सुरक्षित हुनेछ । यसमा विदेशबाट फर्केका व्यक्तिहरूको सिप र उनीहरूले गर्न खोजेको योजना अनि चहानाअनुरूप काम गरिनेछ ।

नयाँ सरकार होस् वा मन्त्री, आमजनताले केही नयाँ अपेक्षा राखेका हुन्छन् । नयाँ मन्त्रीले केही नयाँ काम गर्नुहुन्छ भन्ने आस रहन्छ । पहिलो पटक सरकारमा बसेर काम गर्ने अवसर पाउनुभएको छ । केही नयाँ गरौँ भन्ने छैन ?

पक्कै पनि नयाँ जिम्मेवारी पाउँदा नयाँ राम्रो काम गर्छु भन्ने इच्छा सबैलाई हुन्छ तर भनेजस्तो हुँदैन । अहिलेको अवस्था त नयाँ योजना बनाएर काम गर्छु भन्ने अवस्था नै छैन तर पनि मन्त्रालयबाट तत्काल एउटा नयाँ काम गर्ने प्रयास गरेको छु ।

वैदेशिक रोजगारमा गएका श्रमिकाहरूकाे समस्या र गुनोसाहरू सम्बोधन गर्न मन्त्रीसँगै प्रश्न–उत्तर कार्यक्रम ल्याउने तयारी गरेको छु । यस कार्यक्रममार्फत श्रमिकले के कस्ता समस्या भोग्नुपरेको छ भन्ने जानकारी हुन्छ । पीडितका कुरा प्रत्यक्ष सुन्दा समस्याको समाधान गर्नसमेत सहज हुन्छ । भोलिका दिनमा योजना, कार्यक्रम बनाउनसमेत सहज हुनेछ।

उद्योगी, व्यवसायीहरूले उद्योग कारखानामा काम गर्ने दक्ष जनशक्ति नहुँदा बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गर्ने गरेका छन् । अब राज्यले युवाहरू वैदेशिक रोजगार भन्दा स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउने बेला आएन र ?

तपाईंले भन्नुभएको कुरा सही हो। अहिले यहाँ काम गर्ने मान्छे पाउन मुस्किल छ। गाउँघरमा युवाहरू नै छैनन्। सबै विदेशिएका छन् । रोजगारीको अवसर खोज्दै दैनिक १ हजार ५०० युवा जनशक्तिहरू विदेशिने गरेको तथ्याङ्क छ। यस विषयमा सरकारले सोच्नुपर्ने आएको छ।

गाउँघरमा युवाहरू जनशक्ति हुँदा हाम्रा खेतीयोग्य जमिन बाँझा भएका छन् । आयात बढ्दो छ । कुनै समयमा हामी धान, चामल, गहुँ निर्यात गथ्र्याैं । अहिले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तुको मात्र आयात गर्नुपरेको छ । यो हाम्रालागि चिन्ताको विषय पनि हो ।

रोजगारीका लागि हाम्रा युवा दाजुभाइ दिदीबहिनीहरूले अर्काको देश विकास गरिरहनुभएको छ । युवा जनशक्ति विदेशी पलायन भएकै कारण हाम्रो देश विकास हुन सकेको छैन । यस विषयमा हामी सबै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। तर, तत्काल नै वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोक्न सकिँदैन । किनकी हाम्रो अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ? युवाहरूलाई स्वदेशमै रोजगारी दिन हाम्रा औद्योगिक कलकारखाना स्थापना गर्नुपर्ने हुन्छ । सबै युवाहरूलाई अहिले नै रोजगारी दिन सक्ने अवस्था छैन ।

सधैँ हामीले हाम्रो अर्थतन्त्र नै रेमिट्यान्सले धानेको छ भनेर युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने हो कि स्वदेशमै युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने हो ?

हाम्रा युवा दाजुभाइहरूले विदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सले हाम्रो देशको दिगो विकास गर्ने उपयुक्त बाटो होइन। तर, तत्कालै हामीले वैदेशिक रोजगारीमा जाने दैनिक १ हजार ५०० युवाहरूलाई रोक्न सक्ने अवस्था छैन।

विस्तारै राज्यले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या कम गर्दै लैजानुपर्नेछ। तर, पछिल्लो समय सरकारले युवाहरूलाई स्वदेशमै काम गर्नका लागि प्रोत्साहन गर्ने काम गरिरहेको छ। हामीले एउटा काम गर्र्दै छौँ, विभिन्न सिप भएका श्रमिकलाई टे«सिङ गर्ने सफ्टवेयर तयार गर्ने काम अघि बढाइएको छ।

यसले देशभरका दक्ष जनशक्तिको ट्रेसिङ गर्नेछ। उनीहरूको योग्यता र क्षमताअनुसारको काम दिइनेछ। यसैगरी मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वदेशमै उद्योग, व्यवसाय गर्नेका लागि सामाजिक सुरक्षा कोषमा हालसम्म जम्मा भएको रकमलाई परिचालन गर्ने कार्य अघि बढाएको छ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम परिचालन गर्ने भन्नुभयो । कसरी परिचालन गर्ने सोच्नुभएको छ ?

त्यसका लागि एउटा कार्यविधि तयार पारी मन्त्रिपरिषद्मा मैले नै पेस गरेको छु । क्याबिनेटबाट पास भएर आएपछि त्यसलाई कार्यान्वयन ल्याउनेछौँ । वैदेशिक रोजगारीबाट सिप सिकेर आएका युवाहरूलाई कृषिजन्य उद्योग, व्यवसाय गर्न चाहने व्यक्तिलाई सहुलियत ऋण दिने हो ।

यो कार्यक्रम कार्यान्वयन हुँदा धेरै युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना हुनेछ । यस्ता विभिन्न कार्यक्रम सञ्चालन गरी हामीले हाम्रो देशलाई आर्थिक रूपमा सबल बनाउनुपर्छ । देशलाई आर्थिक रूपमा सबल बनाउन हरेकले आफ्नो क्षेत्रबाट मर्यादित रूपमा काम गर्न लाग्नुपर्छ । एक्लो सरकारले मात्र गर्न सक्दैन, सरकारलाई सबै क्षेत्रको साथ र सहयोग चाहिन्छ ।

अहिले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूको अवस्थाको यकिन तथ्याङ्क सरकारसँग छ ?

मैले मन्त्रीको जिम्मेवारी पाएपछि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको अनुगमन गर्न जाँदा वैदेशिक रोजगारीमा जानेको अवस्था के रहेछ भनेर केही तथ्याङ्क पाएको थिएँ । बोर्डसँग भएको तथ्याङ्कअनुसार करिब ४५ लाख जनशक्ति विदेशमा छन्, जसमध्ये १० हजारको लास आएको छ।

२ हजारभन्दा बढीको अङ्गभङ्ग भएको अवस्था छ । २७ जना कोमामा छन् । यो तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जानेको अवस्था डरलाग्दो छ । यो स्थितिलाई कसरी सहज बनाउने भनेर म र मेरो मन्त्रालयअन्तर्गतका विभाग र सबै कर्मचारीहरू लागिरहेका छौँ ।

स्वदेशमा भएका श्रमिकहरूको अवस्था यस्तो छ, यति नै छन् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन।

प्रसङ्ग थोरै बदलौँ, तपाईंलाई त अवसरका लागि पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा आएको भन्ने आरोप छ नि ?

भन्नेले त जे पनि भन्छन् । तर, म कहिल्यै पनि अवसरका पछि लागिनँ। सधैँ पार्टीको सिद्धान्त र निर्देशनअनुसार नै निरन्तर काम गर्दै आएको हुँ । नेकपा एमाले पार्टी विभाजन हुनुमा अहिले मलाई जे आरोप लगाइरहेका छन्, उनीहरू नै बढी जिम्मेवार छन्।

यदि मैले अवसरको पछि लाग्नु थियो भने यसभन्दा अघि पनि मलाई अवसर नआएका होइनन्। मैले आफूभन्दा साथीहरूलाई नै अघि बढ्न सहयोग गरेको छु । त्यो उहाँहरूले पनि बुझेको नै होला । अहिले मलाई जसले अवसरका लागि नेकपा एमाले छाडेर नेकपा एसमा आएको आरोप लगाइरहेका छन्, उनीहरूलाई नै थाहा छ कि शेरबहादुर कुँवर अवसरका लागि कहिल्यै पनि पछि लाग्दैन ।

मैले २०३९ सालदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट औपचारिक राजनीतिक यात्रा सुरु गरेँ। त्यस दिनदेखि आजसम्म मैले मेरो आफ्नो व्यक्तिगत स्वार्थ र अवसरमा लागिनँ। जे गरेँ, राज्य र समाजको विकास र परिवर्तनका लागि गरेको छु। अहिले पनि म मन्त्री हुन्छु भनेर कसैसँग माग गरेको होइन।

पार्टीले मलाई सिफारिस गरेपछि सरकारले मलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकेपछि मात्र मैले थाहा पाएको हुँ। मलाई म मन्त्री बन्दै छु भन्ने थाहासमेत थिएन।

पार्टी विभाजन हुँदा आउने निर्वाचनमा असर त पर्छ होला नि ?

पार्टी विभाजन हुँदा असर त पर्छ नै । एउटा पार्टी २ वटामा टुक्रिँदा निर्वाचनको क्रममा असर पर्नु स्वाभाविक कुरा नै हो ।

प्रतिक्रिया दिनुहोस्