हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जनालाई ११ कित्ता



काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो।

गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए ।

जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजार ४७ जनाले प्रतिव्यक्ति १०-१० कित्ताका दरले कम्पनीको सेयर पाएका हुन् । जसमध्ये २ जना आवेदकले भने ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्