श्रीलङ्कामा देशव्यापी कर्फ्यु घोषणा



एजेन्सी । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी कर्फ्यु घोषणा गरेका छन्। बुधवार कार्यवाहक राष्ट्रपतिमा भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।

बुधवार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधवार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।

गत शनिवार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् । यता बुधवार राजीनामा दिने भनिएका राष्ट्रपति गोटवाया राजपक्षेले अझै राजीनामा दिएका छैनन्। शनिवार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिएपछि सेनाको विमानबाट राजपक्षे माल्दिभ्स भागेका थिए । राजपक्षे त्यहाँबाट सिंगापुर जाने तयारीमा छन् ।

राजपक्षे लिन सिंगापुरबाट आएको निजी विमान मालेको भेलेना इन्टरनेसनल एअरपोर्टमा अवतरण भइसकेको डेली मिररले जनाएको छ । राजपक्षेका साथमा उनकी श्रीमती लोमा राजपक्षे र दुई सुरक्षाकर्मी सिंगापुर जाने तयारीमा रहेको बताइएको छ । राजपक्षेले सिंगापुग पुगेपछिमात्र राष्ट्रपति पदबाट राजीनामा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्